इस्मा गाउँपालिकाको निशानामा मदिरा : मदिरा बोक्ने गाडीदेखि श्रीमति कुट्नेसम्मलाई कारबाही

0
374

टोपलाल अर्याल
गुल्मी, ४ बैशाख :गुल्मीको इस्मा गाउँपालिकाले करिव दुई बर्षदेखि मदिरा उत्पादन, सेवन र बिक्री वितरणमा कडाई गरेको छ । अहिले कोरोना संक्रमण कारण लकडाउन भइरहेकाले थप निगरानी गाउँपालिकाले बढाएको छ । लकडाउनको पुर्ण कार्यान्वयन गर्न मोवाइल गस्ती तथा स्वयसेवक परिचालन भएका छन् । मोवाइल गस्ती टोलीले बुधबार र बिहिबार मदिरा बोकेका दुई गाडीलाई नियन्त्रणमा लिएका छन् । बुधबार राति सदरमुकामबाट खाद्यान्यको नाममा मदिरा बोकेर मालिका गाउँपालिका ५ छापहिले जाँदै गरेको गाडीलाई गस्ती टोलीले नियन्त्रण लिएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । ग १ च ९८६ जीपलाई गाउँपालिका ३ दर्लामचौर रामकोटमा चेक जाँच गरेर १० कार्टुन मदिरा बरामद गरि चालकलाई सम्झाएर छाडिएको खत्रीले बताइन् । त्यस्तै बिहिबार बिहान छापहिलेनै जाँदै गरेको लु २ च २५७३ को जीपबाट पनि छल्दी पनाहमा ५ कार्टुन मदिरा बरामद गरिएको उनले जानकारी दिइन् ।
रक्सी खाएर श्रीमतिको हात भाँचे
रक्सी खाएर एक जनाले श्रीमतिको हाँत भाँचेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका २७ बर्षीय कृष्ण बहादुर नेपालीले २४ बर्षीया लक्ष्मी नेपालीको मदिरा सेवन कुटपीट गर्दा बायाँ हात भाँचिएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले बताए । पीडितको सदरमुकाम तम्घासमा उपचार गरिएको छ । मदिरा बिक्री वितरण गर्ने र सेवन गरेर झगडा गरेको सूचनाको आधारमा इस्मा गाउँपालिका ४ दोहलीको सालघारी पुगेको गस्ती टोलीले टेक बहादुर नेपाली र कुखरियाच्यनाका रमेश जिसीको घरबाट अबैध मदिरा बरामद गरेर नष्ट गरेको प्रहरीचौकी इन्चार्ज अधिकारीले बताए । दुई घरबाट बिना इजाजत बिक्री गर्न राखेको २१ कार्टुन मदिरा बरामद गरेर नष्ट गरिएको हो । साथै लकडाउनकै समयमा रातका जम्मा भएर मदिरा सेवन गर्ने, बिक्री गर्ने गरेको सुचनाको आधारमा एक सय ५० लिटर मदिरा बरामद गरेर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । इस्मा गाउँपालिकाले लक डाउन व्यस्थित गर्न दर्लामचौरमा २५ जना स्वयमसेवक टोली गठन गरेको छ । भने इस्मा गाउँपालिका २ र ३ मा विभिन्न ठाउँबाट आएका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

SHARE