नेपाली कांग्रेसद्धारा रामपुर नगरपालिकालाई रु एक लाख ७७ हजार राहत सहयोग

0
687

सुशीला रेग्मी

रामपुर (पाल्पा), ४ वैशाख  :  रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस रामपुर नगरले रु एक लाख ७७ हजार बराबरको राहत सहयोग गरेको छ ।

नगरपालिकाले एकद्धार प्रणालीबाट राहत सङ्कलन गर्न थालेपछि कांग्रेस नगरले रु एक लाख ७७ हजार आठ सय ९० रकम नगर प्रमुख रमणबहादुर थापालाई बुधवार हस्तान्तरण गरेको छ ।

नगरले सुरु गरेको एकद्धार प्रणालीबाट राहत सङ्कलन कार्यमा ऐक्यबद्धता जनाउँदै थोरै भएपनि बन्दाबन्दीको मारमा परेका नागरिकलाई सहयोग पुगोस् भनी राहत हस्तान्तरण गरिएको नगर सभापति नेत्रप्रसाद भट्टराई बताउनुहुन्छ । सोही अवसरमा एक आपसमा नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गरिएको छ ।

रामपुर नगरपालिकामा हालसम्म रु सात लाख तीन हजार नौ सय पाँच राहत तथा जिन्सी सामग्री सङ्कलन भएको छ ।

प्रकोप व्यवस्थापन कोषमा अन्धकारमुक्ति वचत तथा ऋण सहकारीबाट रु एक लाख, एकिकृत मगर उत्थान समाजबाट रु ८२ हजार ३०० सय ९०, नमस्ते रामपुर यातायात प्रालिबाट रु ५० हजार राहत रकम जुटेको छ ।

रामपुर उद्योग वाणिज्य संघबाट रु ५१ हजार, ग्रामिण विकास वचत तथा ऋण सहकारी संस्थाबाट रु २५ हजार, क्षेत्री समाज नेपालबाट रु २५ हजार एक सय २५, रामपुर क्यापिटल एण्ड इन्भेष्टमेण्ट प्रालिबाट रु २५ हजार, ग्रामीण युवा समाजबाट रु ३१ हजार ५००, पाल्पा पोखरा मन्चबाट रु १० हजार, राहत रकम सङ्कलन भएको छ ।

रामपुर वचत तथा ऋण सहकारी संस्थाबाट रु ९० हजार बराबरको खाद्यान्न सामग्री सङ्कलन भएको छ । पहिलो चरणमा राहत पाउनबाट छुटेका नागरिकलाई पुनः वडा वडाबाट लगत सङ्कलन गर्ने कार्य भइरहेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“हामीलाई पहिलो चरणको राहत वितरण सकिएपछि मात्र राहत कोषमा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट राहत सहयोग जुटिरहेको छ, राहत पाउनबाट छुटेकालाई दोस्रो चरणमा वितरण गर्नेछौ” नगर प्रमुख थापाले भन्नुभयो ।

रामपुर नगरपालिकाको समन्वयमा ईस्लामिक सक्रिय युवा समाज नेपाल रामपुरले एकद्धार प्रणाली लागु हुनुभन्दा अगाडी नै दुई सय घरपरिवार र पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले चार सय छ जना मजदुरलाई राहत सामग्री वितरण गरिसकिएको छ ।

SHARE