स्वयम्सेविका भन्छन्, ‘पैसाभन्दा स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुप¥र्यो’

0
822
सांकेतिक तस्बिर

हुमाकान्त पोखरेल
बैशाख ३,२०७७ गुल्मी : कोरोना रोग महामारि नियन्त्रणको लागि महिला स्वास्थ्य स्वयम्–सेविका परिचालन गर्ने निर्णय गरेसँगै स्वयम्सेविकाले उक्त निर्णयको स्वागत गरेका छन् । आफुहरु अहिलेसम्म तलब नहुँदा पनि काम गरेको भन्दै अप्ठ्यारो पर्दा राज्यलाई सहयोग गर्ने बताएका छन् । तर गाउँमा गएर काम गर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको जोहो गरिदिन भने उनीहरुको आग्रह छ । स्वयम्सेविकाले विशेष गरी देशका विभिन्न शहर र कोरोना संक्रमित मुलकबाट आएकाहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बसे÷नबसेको नियमित अनुगमन गरी तथ्याङ्क अभिलेख गर्ने, बिरामी परे÷नपरेको अनुगमन गर्ने लगायतका काम स्वयम्सेविकाले गर्नेछन् । उक्त काम गरेबापत स्वयम्सेविकाले मासिक एक हजार पाचँ सय प्राप्त गर्नेछन् । अहिले स्वयम्सेविकाले निःशुल्क रुपमा सुत्केरी तथा गर्भवती महिलाको क्षेत्रमा काम गरिरहेका छन् ।

राज्यले सम्झियो, खुसि लागेको छ
विगत १० बर्षदेखि गुल्मीको धुर्कोट गाउँपालिकाअन्तरगत साविकको रजस्थल गाविस वडा नम्बर २ मा सुमित्रा पछाइले महिला स्वास्थ्य स्वयम् सेविकाको रुपमा गर्भवती तथा सुत्केरी महिलालाई आइरन चक्कि वितरण गर्ने, उनीहरुको तथ्याङ्क संकलन गरी सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने, परिवार नियोजनका अस्थायी साधन वितरण गर्ने लगायतका काम निःशुल्क रुपमै गर्दै आएकी छिन् । अहिले विश्वमा कोरोना कहर चलेको बेला नेपाल सरकारले उनीजस्ता स्वयम् सेविकालाई परिचालन गर्ने निर्णय गरेको छ । यस निर्णयलाई उनले स्वागत गरेपछि आवश्यक स्वास्थ्य सामग्री नहुँदा भने चिन्ता लागेको उनी बताउछिन् ।
विगत २६ बर्षदेखि महिला स्वास्थ्य स्वयम्सेविकाको काम गर्दै आएकी शान्ता पाण्डेले राज्यले अप्ठ्यारो पर्दा सम्झिएकोमा खुसि लागेको बताइन् । आजसम्म कुनै तलब नभइकन गाउँमा काम गरेकी उनले समस्या परे निःशुल्क रुपमै काम गर्न तयार भएको प्रतिक्रिया दिइन् । तर अहिले कोरोनाको जोखिम बढ्दै गएकोले आफुहरुलाई न्यूनतम स्वास्थ्य सामग्री समेत नभएकोमा दुःख लागेको बताइन् । ‘निशुल्क रुपमै काम गर्न तयार छु, तर माक्स, ग्लोब, सेनेटाइजर लगायतका कुराहरु आवश्यक छ ।’ उनले भनिन्, ‘सरकारको निर्णय राम्रो भएपनि आवश्यक सामग्री नहुँदा जोखिम बढेको छ ।’ अर्की स्वयम्सेविका झुपा सामतले पनि अहिले संक्रमित मुलक र देशका विभिन्न सहरबाट समेत मानिसहरु गाउँ आएकोले आफुहरु बिनातयारी सबैका घर–घर जाने विषय उच्च जोखिम रहेको गुनासो गरिन् । फरक–फरक व्यक्ति फरक–फरक ठाँउबाट आएकोले बिनातयारी आफुहरु गाउँ जादा सिङ्गो समुदायलाई संक्रमण हुनसक्ने खतरा रहेको उनले बताइन् ।
आवश्यक सामग्री स्थानीय तहले व्यवस्था गर्नुपर्छ  : प्रजिअ
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्वयम्सेविकाहरुको लागि आवश्यक सामग्री सम्बन्धित स्थानीय तहले व्यवस्था गर्नुपर्ने धारणा राखे । माक्स, ग्लोब, सेनेटाइजर लगायतका सामग्रीहरु खरिद गर्दा धेरै मुल्य पनि नपर्ने भएकोले सम्बन्धित स्थानीय तहले त्यसको व्यवस्था गर्नुपर्ने उनले बताए । ‘संघिय सरकारले स्यम्सेविकालाई परिचालन गर्ने र मासिक पन्ध्र सय दिने निर्णय गरेको छ ।’ उनले भने, ‘सम्बन्धित स्थानीय तहले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपर्छ ।’

स्वयम्सेविकाको बीमा हुनुपर्छ
जिल्ला समन्वय समिति सभापति लक्षमण पराजुलीले यस विषयमा अहिलेसम्म कुनै स्थानीय तहसम्म समन्वय नभएको बताए । तर स्वयम्सेविकाले स्थानीय तह र प्रदेश÷संघिय सरकारमार्फत गर्ने कामको सम्बन्धित सरकारले जिम्मा लिनुपर्ने बताए । ‘क्वारेन्टाइन र आइसुलेसन सम्बन्धि काम प्रदेश तथा संघिय सरकार अन्तरगत पर्दछन् भने तथ्याङ्क संकलनको काम स्थानीय सरकारअन्तरगत पर्दछ ।’ उनले भने, ‘यसमा सम्बन्धित सरकारले स्यम्सेविकाको स्वास्थ्यको जिम्मा लिनुपर्छ ।’ महामारि फैलिसकेपछि जिल्लामा धेरै कठिन परिस्थिति सिर्जना हुनेभन्दै सरकारले स्वयम्सेविकाको जिवन बीमा गरिदिनुपर्ने प्रतिक्रिया दिए । जिल्लामा हाल १२ वटै स्थानीय तहमा ९९५ जना महिला स्वास्थ्य स्वयम् सेविका कार्यरत छन् ।

SHARE