चैत २९, २०७६ बर्दिया : नेपालसँग सीमा जोडिएको भारतको उत्तरप्रदेशमा कोरोना संक्रमण बढदै गएपछि बर्दियाको सीमा नाकामा उच्च सतर्कता बढाइएको छ।
बर्दिया जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सीमा पूर्ण रुपले सिल गरिएको छ। सीमा क्षेत्रमा पर्ने बर्दियाका ८७ वटा चेक पोस्टमा झण्डै ८ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले जानकारी दिए। भारतको उत्तर प्रदेशसँग बर्दियाको ८३ किलोमिटर क्षेत्र पर्छ। यस क्षेत्रमा झण्डै एक एक किलोमिटरको दूरीमा चेक पोस्ट खडा गरिएको छ। सुरक्षा निकायले २४ सै घण्टा निगरानी बढाएको छ। सुरक्षा टोलीले सीमावर्ती क्षेत्रमा मोबाइल गस्तीसमेत बढाएको उपरीक्षक विकले बताए।
जिल्लाका केही गाउँमा नेपाली सेनाहरु पनि तैनाथ गरिएका छन्। बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार लुकीछिपी आवतजावत गर्ने स्थान पहिचान गरी त्यस्ता ठाउँमा सुरक्षा चेक पोस्ट खडा गरिएको हो। बर्दियामा भएको सुरक्षा बल अपुग भएपछि बाहिर जिल्लाबाट थप बल १ सय ५० जनाको संख्यामा सशस्त्र प्रहरी मगाइएको छ।
बर्दियाको सीमावर्ती बलैगाउँ, मूर्तिहा, बिछिया, तिकुनियालगायत भारतीय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ। ती नाकामा उच्च सतर्कता बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। छिमेकी जिल्ला कैलाली र सीमावर्ती उत्तरप्रदेशमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएपछि भारतीय सीमा पूर्ण रुपले लक गर्ने, छिमेकी जिल्ला कैलालीसँग आवागमन ठप्प पार्ने, स्थानीय तहबीच पनि आवागमन रोक्ने प्रशासनको रणनीति छ।कोरोना संक्रमण फैलिनबाट जोगिन स्थानीय तहमा सचेतना जोगाउने कार्यहरु पनि भएका छन्।