समाचार प्रभाव : रामपुरको क्वारेन्टाइनमा बसेका छ वर्षीय बालकलाई सहयोग

0
1217

सुशीला रेग्मी

रामपुर (पाल्पा), २४ चैत  : रामपुर नगरपालिका ५ स्थित बालकल्याण प्राविको क्वारेन्टाइन कक्षमा बसेका छ वर्षीय बालक शिव नेपालीलाई सहयोग प्राप्त भएको छ । छ वर्षीय बालक क्वारेन्टाइनमा भन्ने समाचार खबरमार्केट डटकममा प्रकाशन भएपछि रामपुर नगरपालिका ६ विजयपुर बस्ने मन्जु मानन्धर र उहाँका छोरा बिमर्श मानन्धरले क्वारेन्टाइन कक्षमा पुगेर ट्याब, फलफुल लगायतका सामग्री सहयोग गर्नुभएको छ ।

सोमवार वडा अध्यक्ष हिमाल मल्ल र वडा सदस्य विष्णुप्रसाद बस्याललाई ट्याब, फलफल, चाउचाउ, बिस्कुट लगायतका सामग्री हस्तान्तरण गर्नुभएको छ ।

सानो बालक क्वारेन्टाइन कक्षमा बसेको देखेर भित्रि मनदेखि नै सहयोग गर्ने ईच्छा प्रकट भएर सहयोग गरेको सहयोगदाता मानन्धरले बताउनुभएको ।

“अनलाईनमा प्रकाशन भएको समाचार पढेपछि मलाई भावुक बनायो, बाबा संग क्वारेन्टाइनमा बसेका बालकलाई आफ्नो जस्तै छोरा सम्झेर सानो भएपनि सहयोग गरेको हुँ” सहयोगदाता मानन्धरले भावुक हुदै भन्नुभयो ।

ट्याब, फलफुल, चाउचाउ, बिस्कुट लगायतका सामग्री पाएपछि बालक नेपालीले खुशी व्यक्त गर्नुभयो । अहिले उहाँ ट्याब पाएपछि गेम खेल्ने, भिडियो, फोटो हेर्ने गरेर बस्ने गर्नुहुन्छ ।

क्वारेन्टाइन कक्षमा आएर सानो बालकको लागि विभिन्न सामग्री सहयोग गरेकोमा धन्यवाद दिदै वडा अध्यक्ष हिमाल मल्लले यहाँ बसेका सबै नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।

नेपाली र उहाँका बुबा सुनिल नेपाली भारतको गोरखपुरबाट चैत ३ गते नेपाल प्रस्थान गर्नुभएको हो । सुनौलीबाट सात दिनको पैदल हिडेर पूर्वखोला आइपुग्नुभएको थियो । रामपुर नगरपालिकाले जानकारी पाएपछि जब्गादीबाट चैत १७ गते बाबु छोरालाई रामपुरको क्वारेन्टाइन कक्षमा ल्याएर राखेको छ ।

रामपुर नगरपालिका २ स्थित अत्रवास स्थायी घर भएपनि सुनिल पन्ध्र वर्षदेखि भारतीय मुलुकमा होटलमा मजदुरी गर्दै आउनुभएको छ । उहाँका श्रीमतीको गतवर्ष क्षारेरोगका कारण निधन भयो । गोरखपुरको एक होटलमा काम गर्दै आउनुभएका सुनिललाई होटल साहुले घर पठाएपछि नेपाल आएको उहाँ बताउनुहुन्छ ।

होटलमा काम गरिरहदा कोरना भाइरस सङ्क्रमणले गर्दा साहुले होटल बन्द गरेर घर जान आग्रह गरेपछि छ वर्षीय छोरा लिएर नेपाल फर्कनुभएको हो । घर फर्कने क्रममा बाटोमा पैसा सकिएपछि आफुले चलाउँदै आएको मोबाइल रु एक हजारमा बिक्रि गर्न बाध्य भएको उहाँ गुनासो गर्नुहुन्छ ।

रामपुर नगरपालिकाले शिव र उहाँका बुबा सहित ११ जनालाई क्वारेन्टाइन कक्षमा सुरक्षित साथ राखिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभएको छ । यहाँ रहेका नागरिकको बेला बेलामा स्वास्थ्य जाँच गर्ने काम भइरहेको नगर प्रमुख थापाको भनाई छ ।

SHARE