मुसिकोट नगरपालिकाकाले ९ वटै वडामा राहत वितरण गर्दै

0
432

सागर भण्डारी

चैत्र २२ गुल्मी  : मुसिकोट नगरपालिका अन्तर्गत रहेका ९ वटै वडा कार्यालयहरुले लकडाउनका कारण प्रभावित बनेका र खाद्यान्न अभाव भोगेका परिवारको लगत सकंलन सुरु गरेका छन् ।
मुसिकोट नगरपालिकाको बिहिवारको कार्यपालिकाको बैठकको निर्णय बमोजिम अति विपन्न एवम् गरिबीका खाद्यान्न अभाव भोगिरहेका परिवारको लगत सकंलन गर्न लागिएको वडा कार्यालयहरुले जानकारी दिएका छन् ।
नगरपालिकाले ९ वटै वडामा राहत वितरणको लागि तैयारी गरेको छ । सबै वडाबाट प्रभावित परिवारको विवरण आएपश्चात वडाअध्यक्ष र सदस्यहरुको रोहवरमा राहत वितरणको काम सुरु गरिने मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ ।
वडास्तरीय नामावली सकंलनका लागि प्रत्येक वडाकार्यालयले सर्वदलीय, सर्वपक्षीय बैठक बसी वास्तविक पीडितको तथ्याङ्क सकंलन गर्ने र सोही बमोजिम राहत वितरण गरिने उहाँले बताउनुभयो ।
घरमा उत्पादन भएको खाद्यान्नले १ महिना पनि खान नपुग्ने, परिवारको सबै सदस्य बेरोजगारी भएको अर्थात नियमित आम्दानी हुने कुनै माध्यम नभएको, र ज्यादै न्यून स्तर भएका र कम्तीमा दुई छाक खाना खान समेत नसक्ने तथा ३ रोपनी भन्दा कम जग्गा भएका व्यक्तिहरुको विवरण सकंलन गरी विवाद सिर्जना नहोस भनेर सामाजिक न्यायका हिसाबले राहत वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले त्यस्ता परिवारका लागि २५ केजी चामल, २ किलोग्राम दाल, १ प्याकेट नुन, १ लिटर खाने तेल र २ वटा साबुन लगायतका अत्यावश्यकीय सामाग्री राहत स्वरुप उपलब्ध गराउन लागेको छ ।
नगरपालिकाको बिहिवारको बैठकले लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी गर्नेहरु बढी प्रभावित बनेको भन्दै उनीहरुको सहज जीवन यापनका लागि राहत वितरण गर्न राहत कार्यवितरण कार्यविधि पारित गरेको छ ।
यसैबीच गत चैत्र ४ गते कोरोना सक्रंमित युवतीसगैं एउटै जहाजमा आएका भनिएका ४ जनालाई सम्पर्क गरेर उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको र उनीहरुको अवस्था सामान्य रहेको पाईएको उहाँले बताउनुभयो । ४ जना मध्ये २ जना काठमाण्डौमा रहेको र उनीहरुलाई पनि सम्पर्क गरी आफुले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको र सकांस्पद लक्षणहरु कसैमा पनि नदेखिएको जानकारीमा आएको नगरप्रमुख सापकोटाले बताउनुभयो ।

SHARE