रामपुरमा छ वर्षीय बालक क्वारेन्टाइनमा

0
1867

सुशीला रेग्मी

रामपुर (पाल्पा), २१ चैत  : छ वर्षीय बालक शिव नेपाली, उहाँलाई नत लकडाउन नत कोरना भाइरस केही थाहा छैन । अबोध चुलबुले उमेरमा उहाँ अहिले क्वारेन्टाइन कक्षमा बसिरहनुभएको छ ।

रामपुर नगरपालिका वडा नं ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन कक्षमा बसेका नेपाली जतिबेला पनि घर जान बुबा सँग आग्रह गर्नुहुन्छ । नेपाली र उहाँका बुबा सुनिल नेपाली भारतको गोरखपुरबाट चैत ३ गते नेपाल प्रस्थान गर्नुभएको हो । सुनौलीबाट सात दिनको पैदल हिडेर रामपुर आइपुग्नुभयो ।

लकडाउनले गाडी नचलेपछि छ वर्षीय शिव सात दिनसम्म बुबा सँगै पैदल हिडेर चैत १७ गते रामपुर आउनुभएको हो । रामपुर नगरपालिका वडा नं ९ स्थित जब्गादीमा फेला पारी चैत १७ गते बाबु छोरालाई रामपुर नगरपालिकाले क्वारेन्टाइनमा ल्याएर राखेको छ ।

रामपुर नगरपालिका २ स्थित अत्रवास स्थायी घर भएपनि सुनिल पन्ध्र वर्षदेखि भारतीय मुलुकमा होटलमा मजदुरी गर्दै आउनुभएको छ । उहाँका श्रीमतीको गतवर्ष क्षारेरोगका कारण निधन भयो । गोरखपुरको एक होटलमा काम गर्दै आउनुभएका सुनिललाई होटल साहुले घर पठाएपछि नेपाल आएको उहाँ बताउनुहुन्छ ।

“होटलमा काम गरिरहेको थिए, कोरना भाइरस सङ्क्रमणले गर्दा साहुले होटल बन्द गरेर घर जाओ भन्यो, बाध्य भएर छ वर्षीय छोरा लिएर नेपाल फर्किएँ, नेपाल भित्रिएपछि सवारी नपाएर सात दिनको पैदल हिडेर यहाँ आइपुगेको छु” – उहाँले भन्नुभयो ।

पैसा सकिएपछि आफुले चलाउँदै आएको मोबाइल रु एक हजारमा बिक्रि गर्न बाध्य भएको उहाँ गुनासो गर्नुहुन्छ ।

“छोरालाई भोकले मार्न भएन, अलि—अलि भएको पैसा सबै सकियो, साथमा एउटा मोबाइल थियो चौध÷पन्ध्र हजार त पक्कै पथ्र्यो, आपतकालिन अवस्था परेकाले एक हजारमै बिक्रि गर्न बाध्य भएँ” – उहाँले भावुक हुदै भन्नुभयो ।

छोरा शिवले जतिबेला पनि बुबालाई मोबाइल किन्न अनुरोध गरिरहनु हुन्छ । शिवलाई आमाको मृत्यु भएदेखि बुबा काममा व्यस्त हुदा दिन बिताउने माध्यम भनेको मोबाइल थियो । त्यही मोबाइल पनि साथमा नहुदा उहाँले क्वारेन्टाइनमा अवलोकन गर्न आउने सबैसँग मोबाइल ल्याइदिन आग्रह गर्नुहुन्छ ।

“मैले गेम खेल्ने मोबाइल बाबाले बाटोमा बेच्दिनुभयो, मलाई बाबाको पहिलेको जस्तै ठुलो मोबाइलमा गेम खेल्न मन छ” शिवका अगाडी पर्ने सबैलाई यही कुरा बताउनुहुन्छ ।

रामपुर नगरपालिकाले शिव र उहाँका बुबा सहित ११ जनालाई क्वारेन्टाइन कक्षमा सुरक्षित साथ राखेको छ । बेला बेलामा स्वास्थ्य परिक्षण गरिरहेको छ । यहाँ बसेकाहरुलाई खाना बस्न र खानेपानीको व्यवस्थापन राम्रो गरेको छ ।

क्वारेन्टाइनमा बसेजस्तो अनुभुती नभएको रामपुर ७ कठानका बलराम सुनार बताउनुहुन्छ । उहाँ चैत १३ गते देखि यहाँ बस्न थाल्नुभएको हो ।

क्वारेन्टाइन बस्ने भन्दा सुरुमा आफुलाई अप्ठ्यारो महसुस गरिएपनि सबै सुबिधा भएपछि समस्या नपरेको रामपुर ७ गैटारका बलराम सुनार बताउनुहुन्छ ।

“सुरुमा कसरी बस्ने, के खाने होला भन्ने पिरलो थियो, अहिले त आनन्द छ, सबै सुबिधा पाइएको छ” उहाँले भन्नुभयो ।

नगरपालिकाले क्वारेन्टाइनमा बसेका सबै नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । नगरपालिकामा एक सय ३५ जना भारतीय तथा विभिन्न मुलुकबाट फर्केका नागरिक सुरक्षित रुपमा नै होम क्वारेन्टाइनमै बसेको उहाँ बताउनुहुन्छ ।

SHARE