राहत पाएपछि स्थानीय खुसि भन्छन्, ‘सरकारप्रति विश्वास पलाएको छ’

0
634

हुमाकान्त पोखरेल

चैत २१,२०७६ गुल्मी  : धुर्कोट गाउँपालिका ४ जैसिथोककी ३५ बर्षिय थुमकला मुखियाका घर श्रीमानसहित चारवटा छोराछोरी छन् । जसमध्ये कमाउन भारत गएका श्रीमानले लकडाउनका कारण काम पाएका छैनन् ।

छोराछोरी सबै स्कूल जाने उमेरका छन् । दुईजनाले फुलवारी प्रावि र दुईजनाले पाञ्चायन माविमा पढ्छन् । लकडाउन हुनभन्दा पहिले थुममायाले गाउँमै मजदुरी गरेर केहि खर्चको जोहो गर्थिन । तर लकडाउन भएसँगै उनी पनि काममा जान पाइनन् । भने श्रीमानले पनि पठाउन छोडे । तर घरमा खाद्यान्न सकिन लागेकै समयमा वडाध्यक्ष मानबहादुर कुँवर दाल, चामल, नुन लगायतका खाद्यान्न सामग्री लगेर टोलमै पुगे । जसले गर्दा उनलाई तत्कालकै गर्जो टार्न सहज भयो । ‘कोरोनाले हामिजस्ता गरिखाने धेरैलाई असर ग¥र्यो, काम गर्न नपाउदा खर्च समेत सकिन थाल्यो ।’ उनले भनिन्, ‘स्थानीय सरकारले खाद्यान्न दियो, खुसि लागेको छ ।’ यस्तो राहतले आफु र आफुजस्ता धेरैलाई सहज भएको उनले बताइन् । सोहि स्थानकी राधिका मुखियाका घरमा श्रीमान–श्रीमती मात्र छन् । भएका छोरीको बिहे भइसक्यो भने छोरा श्रीमतीसहित भारतमा छन् । घरमा ज्याला मजदुरी गरेर गुजारा चलाउने मुखिया परिवारलाई लकडाउनले चुलो बल्न दिएन् । यहि अवस्थालाई बुझेर धुर्कोट गाउँपालिकाले चामल, नुन, तेल लगायतका खाद्यान्न दियो । जसले गर्दा उनलाई राहत मिलेको छ । ‘चुनावमा भोट माग्न आउदा दुःख परेको बेला हेर्छम भन्थे, खासै विश्वास लागेको थिएन ।’ उनले भनिन्, ‘अहिले सहयोग गरे, सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।’
अहिले सिङ्गो विश्व कोरोनाले त्रसित भएको छ । नेपाल सरकाले पनि लकडाउन घोषणा गरेसँगै मजदुरको काम रोकिएको छ । विपन्न परिवारलाई साहुले पत्याउन छोडे । यस्तो अवस्थामा गुल्मीका स्थानीय तहले विपन्न तथा मजदुरका परिवारलाई राहत वितरण सुरु गरेका छन् । केहि स्थानीय तहले विपन्न तथा मजदुर परिवारलाई राहत दिइसकेका छन् भने तथ्याङ्क संकलन गर्दै छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले ४ वडामा राहत वितरण गरिसकेको छ । जसअन्तरगत वडा नम्बर ७ वाग्ला र ६ रजस्थलमा ६०÷६०, वडा नम्बर ५ वस्तुमा ४० तथा वडा नम्बर ४ जैसिथोकमा ८१ जनालाई राहत प्रदान गरेको गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । गाउँपालिकाले अन्य वडामा पनि राहत बाड्ने तयारी गरेको उनले बताए । गाउँपालिकाले २५ किलो चामल, एक किलो दाल, एउटा साबुन, नुन, एक पोका तेल लगायतका खाद्य सामग्री वितरण गरेको हो ।
मालिका गाउँपालिकाले पनि विपन्न तथा मजदुर परिवारको लागि राहत वितरण गरेको छ । जसअन्तरगत वडा नम्बर ६ अर्जैमा ७२ जनालाई खाद्य सामग्रीका साथै माक्स प्रदान गरेको छ । त्यस्तै वडा नम्बर १ नेटामा ५०, वडा नम्बर ३ ह्वाङ्दिमा एक सयजना, ४ अर्खबाङ्गमा ५०, ५ छापहिलेमा ५२, ७ घमिरमा ८७ र ८ मर्भुङमा ५५ जनाले खाद्य सामग्री पाउने गाउँपालिकाका प्रवक्त शोभाखर गिरीले जानकारी दिए । गाउँपालिकाले ३० किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल लगायतका खाद्य सामग्री प्रदान गरेको प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।
अहिले जिल्लामा राहत वितरणको लहर चलेको छ । केहिले व्यक्तिगत रुपमा विपन्न परिवारलाई सहयोग गरेका छन् भने केहिले सँस्थागत रुपमै सहयोग गरेका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य गोपाल कुँवरले धुर्कोट गाउँपालिका ४ जैसिथोक गोपेका ४० परिवारलाई साबुन वितरण गरेका छन् । अनेरास्ववियूका जिल्ला कार्यालय सदस्य श्रीराम महतले रेसुङ्गा नगरपालिकाका ३५ मजदुरी गर्ने परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन् । उनले प्रति परिवार पाचँ किलो चामल, एक किलो दाल, एक किलो तेल र एक किलो नुन प्रदान गरेका हुन् । त्यसका साथै उनले मुसिकोट नगरपालिका वडा नम्बर २ मा विपन्न परिवारलाई साबुन वितरण गर्नको लागि वडासदस्य ध्रुव पछाईलाई १० हजार प्रदान गरेका छन् । जैसिथोक समाज गुल्मी काठमाडौले पनि ९० हजार सहयोग गरेको छ ।

SHARE