धुर्कोटका अति विपन्न ६० परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान

0
363

हुमाकान्त पोखरेल
चैत१८,२०७६ गुल्मी  :  गुल्मीको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ वाग्लाबाट राहत वितरण सुरु गरिएको हो । मंगलबार वाग्लाका ६० अति विपन्न वर्गलाई गाउँपालिकाले प्रति परिवार २५ किलो चामल, पाचँ किलो आलु, एक किलो नुन र एक पोका तेल वितरण गरेको वडाध्यक्ष हिम प्रसाद पन्थीले जानकारी दिए । जसमा अपाङ्ग र एकल महिला सात÷सात जना, एकल पुरुष पाचँजना, ज्येष्ठ नागरिक तीनजना, अनाथ बालबालिकाको संरक्षक तीनजना तथा विपन्न वर्गका ३४ जना रहेका छन् ।

यसरी कुल एक हजार पाचँ सय किलो चामल, तीन सय किलो आलु, ६० किलो नुन र ६० पोका तेल वितरण गरिएको पन्थीले बताए । गाउँपालिकाले तयार पारेको विधिका आधारमा विपन्न परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष शिव बहादुर खत्रीले बताए । राहत वितरणमा निश्चित दुरी कायम गरिएको थियो । गाउँपालिकाले अब सबै वडामा क्रमैसँग अति गरिब तथा विपन्न परिवारलाई यसैगरी राहत उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । जसका लागि सबै वडामा रहेका गरिब तथा विपन्न वर्गको तथ्याङ्क संकलन भइरहेको उनले बताए ।
गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले गरेको ‘लकडाउन’ बाट प्रभावित हुने परिवारको लागि सहयोगको अपिल गरेको थियो । जसमा अहिलेसम्म पाचँ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । भने केहि खाद्यान्न पनि संकलन भएको छ ।
जसअन्तरगत वडा नम्बर ४ जैसिथोक निवासी राजन केसिले २५ किलो चामल, दाल, तेल र नुन दुई÷दुई किलो, पाचँ पोका सोयाबिन तथा लुगा धुने र नुहाउने छ÷छ वटा साबुन प्रदान गरेका छन् भने धुर्कोट ७ वाग्लास्थित युवराज घिमिरेले ५० किलो चामल, १० किलो नुन, १० लिटर तेल र १० वटा साबुन प्रदान गरेका छन् ।
गाउँपालिकाले विपन्नलाई परिवारलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ । जसअन्तरगत अपाङ्ग भई कुनै काम गर्न नसक्ने, परिवारमा कुनै सदस्य कुनै पेशा व्यवसायमा संलग्न नभएको तथा एकल महिला र पुरुष, दीर्घ रोगि भई काम गर्न नसक्ने, आम्दानीको स्रोत नभएको ५० बर्षभन्दा माथिको नागरिकलाई पनि गाउँपालिकाले ‘क’ वर्गमा राखेको छ । परिवारका कुनै सदस्यको नियमित आम्दानीको स्रोत नभई ज्यालादारी रुपमा काम गर्ने, लकडाउनका कारण आम्दानीको स्रोत रोकिएको तथा घरमा खेतियोग्य जमिन कम भएकोलाई ‘ख’ वर्गमा वर्णिकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिँराम पन्थीले बताए ।

SHARE