सुशीला रेग्मी
चैत १७, पाल्पा : मटेरी युथ युनियन क्लव रामपुर नगरपालिका पाल्पाले कोरना भाइरसको सङ्क्रमणका बेला जोखिम मोलेर काम गर्ने संचारकर्मी, सुरक्षा निकाय र स्वास्थ्यकर्मीलाई पानी सहयोग गरेको छ । क्लवले सामुदायिक रेडियो रामपुरको स्टेशनमै पुगेर स्टेशन प्रबन्धक बासुदेव ढकाललाई दुई कार्टुन पानी हस्तान्तरण गरेको छ ।
रेडियो घरमा आएर विपद् परिस्थितीमा खटेर काम गर्ने संचारकर्मीलाई पानी सहयोग गरेकोमा स्टेशन प्रबन्धक बासुदेव ढकालले क्लवलाई धन्यवाद दिनुभएको छ । उहाँले कोरना भाइरसको सङ्क्रमणका सन्दर्भमा रेडियोले सुचना सन्देश र समाचारलाई बढी प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।
क्लवका अध्यक्ष अमिर राना, सचिव कमल राना, सल्लाहकार दिपेन्द्रप्रसाद भट्टराई र विकास पौडेल सहितको टोलीले आज विभिन्न स्थानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई पानी वितरण गरेको हो ।
रामपुर नगरपालिका र चापाकोट नगरपालिकाको सिमानामा पर्ने प्याक्लुकघाट झोलुङ्गे पुल, बेझाड बजार चोकमा खटिएका सुरक्षाकर्मी, रामपुर नगरपालिका ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन कक्षमा रहेका नागरिक, रामपुर अस्पताल, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी, रेडियो पाल्पामा कार्यरत संचारकर्मीलाई पानी वितरण गरिएको क्लवले जनाएको छ ।
गर्मीयाममा जोखिम परिस्थितीमा आफ्नो काममा निरन्तर खट्ने संचारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई पानी सहयोग गरिएको क्लवका अध्यक्ष अमिर रानाले जानकारी दिनुभएको छ ।