अति विपन्नलाई खाद्यान्न सामग्री वितरण गर्ने तयारीमा छौँ  :  नगर प्रमुख थापा

0
1346

सुशीला रेग्मी

रामपुर (पाल्पा), १६ चैत  :  रामपुर नगरपालिकाले लकडाउनका समयमा समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने तयारी गरेको छ । कोरना भाइरस (कोभिड १९) बाट सजगता अपनाउन सरकारले लागु गरेको लकडाउनले अति विपन्न गरिव परिवार समस्यामा परेका छन् ।

अति विपन्न परिवारको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकलाई खाद्यान्न सामग्री सहयोग गर्ने तयारीमा जुटेको छ । आईतवार वडास्तरिय विपद् व्यवस्थापन समितिको बैठकले वडा वडामा अति विपन्न नागरिकको लगत सङ्कलन गर्ने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समितिले वडा वडाबाट अति विपन्न परिवारको लगत सङ्कलनको तथ्याङ्क निकालेपछि नगरपालिकाले खाद्यान्न सामग्री वितरण गर्ने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“दैनिक मजदुरी, ज्यालादारी गरेर बिहान साँभmको गुजारा चलाउने नागरिकहरु अति मारमा परेका छन्, रामपुरमा लकडाउनका समयमा कोही पनि खाद्यान्न सङ्कटको मारमा नपरुन् र अति विपन्न नागरिकलाई खाद्यान्न वितरण गर्ने तयारी गरेका छौँ” नगर प्रमुख थापाले भन्नुभयो ।

वडास्तरबाट तथ्याङ्क आएपछि नगरपालिकाले फोकल पर्सन तोकेर खाद्यान्न सामग्री वितरण गर्ने नगर प्रमुख थापाको भनाई छ । लकडाउनका समयमा पसल, व्यापार, व्यवसाय बन्द रहेपछि समस्यामा रहेका नागरिकलाई मध्यनजर गर्दै नगरपालिकाले घर घरमा सामान पठाउने तयारी गरेको छ । नेपाली सेनासंगको समन्वयमा नागरिकको आवश्यकता अनुसार खाद्यान्नका विभिन्न सामग्री घर घरमा पु¥याइने भएको छ ।

आवतजावत बन्द, घरभित्रै बस्छन् नागरिकहरु

सरकारले गरेको लकडाउनलाई पालना गर्न रामपुर नगरपालिकाले सुचना जारी गरेपछि आवजजावत बन्द छ । यहाँका नागरिकहरु कोरना भाइरसबाट बच्न सजगता अपनाउँदै घरभित्रै बसेका छन् ।

रामपुर नगरपालिकाले वडा वडाका विभिन्न टोल वस्तीमा नेपाली सेना, प्रहरी, स्वास्थ्यकर्मी, ईलाका प्रशासन कार्यालयको टोली परिचालन गरी नागरिकलाई सचेत बनाएको छ ।

घुम्ती टोलीले टोल टोलमा पुगेर नागरिकलाई सचेत बनाउने, बाहिरबाट आएका नागरिकको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेका कारण नागरिकहरु घरबाट बाहिर निस्किएका छैनन् ।

SHARE