रामपुर नगरपालिकाले केलादी पुलमा स्वास्थ्य जाँच गरेर घर पठाउँदै

0
1361

सुशीला रेग्मी

रामपुर (पाल्पा), १० चैत : विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले केलादी पुलमा स्वास्थ्य जाँच गरेर मात्र यात्रु तथा नागरिकलाई घर पठाउने गरेको छ ।

कोरना भाइरसको सङ्क्रमणबाट सर्तक रहन सचेत गराउँदै रामपुर नगरपालिकाले बाहिरबाट भित्रने नागरिकको स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश गराउन थालेको हो ।

सोमवार नगरपालिकाले प्रदेश पाँच र गण्डकी प्रदेशको सिमाना कालीगण्डकीको कोलादी पुलबाट स्वास्थ्य जाँच कार्य सुरु गरेको छ ।

बाहिरबाट रामपुर नगरपालिका भित्रने नागरिकमा सङ्क्रमण नभित्रियोस् भन्नका लागि नगरपालिकाले रामपुर प्रवेश गर्ने नाकाहरुमा कडाई गरी स्वास्थ्य परिक्षण गर्न थालेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“भाइरसबाट सर्तक रहन बाहिरबाट रामपुर भित्रने नागरिकलाई स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश गराउनेछौ, नगरका विभिन्न स्थानमा हेल्प डेस्क सेवा तथा परामर्श कक्ष, आइसोलेशन कक्ष, घरदैलोमा पुगेर सचेतना जगाउने काम भइरहेको छ” नगर प्रमुख थापाले भन्नुभयो ।

कालीगण्डकीको केलादी पुल, रामपुर नगरपालिका ९ स्थित जब्गादी, वडा नं १० स्थित गेझा क्षेत्र लगायतका रामपुर भित्रने विभिन्न स्थानहरुमा नगरपालिकाले बिशेष निगरानी गर्न थालेको छ ।

नगरपालिकाले रामपुरमा मास्कको अभाव हुन नदिन दश हजार उत्पादन गर्दैछ । विभिन्न स्थानमा साबुनपानीले हातधुने व्यवस्था, स्यानीटाइजरको प्रयोग गर्न सिकाउने, घरदैलोमा जनप्रतिनिधि पुगेर पर्चा पम्पलेट, मास्क वितरण गर्ने, माइकिङ्ग गर्ने जस्ता कामहरु भइरहेको छ ।

काठमाण्डौँमा बसोबास गरेका नागरिकहरुलाई मध्यनजर गर्दै सहज यात्रा गराउन नगरपालिकाले निशुल्क बस सेवा संचालन गरेपछि सोमवार बिहान करिव एक सय ५० नागरिक रामपुर भित्रिएका छन् । रामपुर भित्रिएका ती नागरिकहरुलाई नगरपालिकाले केलादी पुलमा स्वास्थ्य परिक्षण गरेर मात्र पठाइएको छ ।

गाडीबाट यात्रु ओर्लिएपछि साबुनपानी तथा स्यानीटाइजरको प्रयोगले हात मिचिमिचि धुन लगाएर मात्र स्वास्थ्य परिक्षण गराएर घर पठाइएको हो । स्वास्थ्य परिक्षण कार्य रामपुर अस्पतालका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, युवाहरु लगायत विभिन्न व्यक्ति संघ संस्थाको सहयोगमा गरिएको हो ।

काठमाण्डौँबाट रामपुर आउन सवारी साधन नपाएर अलपत्र परेका नागरिकहरु नगरपालिकाले बसको व्यवस्था गरिदिएपछि खुशी भएका छन् । नगरपालिकाले गाडी नपाएर अलपत्र रहेका बेला गाडी व्यवस्थापन गरेर निशुल्क घरसम्म पु¥याएपछि नागरिकलाई ठुलो राहत पुगेको पार्वती न्यौपानेले बताउनुभयो ।

“टिकट काउण्टरमा बुझ्दा टिकट बुकिङ्ग भइसकेको थियो, गाडी नपाएर घर आउन पाइदैन की भन्ने लागेको थियो तर रामपुर नगरपालिकाले बस व्यवस्थापन गरेर निशुल्क घरमै पुग्ने व्यवस्था गरेकोमा हामी अत्यन्तै खुशी छौँ” उहाँले भन्नुभयो ।

स्वास्थ्य परिक्षण गरिएकामध्ये आधा दर्जन नागरिकमा ज्वरोको समस्या देखा परेकोमा थप परिक्षणका लागि रामपुर अस्पतालमा लैजाने तयारी भएको अस्पतालका सुपरीटेण्डेन डाक्टर विजय परियारले जानकारी दिनुभयो ।

रामपुर नगरपालिका वडा नं ५ को कार्यालयले कोरना भाइरसको सङ्क्रमणबाट सजग रहन वडाका टोल टोलमा माइकिङ्ग गरी भाइरस सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ ।

वडा अध्यक्ष हिमाल मल्लको नेतृत्वमा वडा सदस्यहरु साबित्रा गौतम, विष्णुप्रसाद बस्याल, काशिनाथ रेग्मी र माया नेपाली सहितको टोलीले माइकिङ्ग गर्दै घरदैलो गरेको छ । रामपुरमा बजार क्षेत्रहरु पनि सुनसान बन्न थालेका छन् । सवारी साधन पनि कमै मात्रामा खुलेका छन् भने व्यापार व्यवसाय पनि कम हुदै गएको छ ।

SHARE