विचित्र गुफाको ‘सूचना केन्द्र’ स्थापना 

0
482
????????????????????????????????????

हुमाकान्त पोखरेल
चैत४,२०७६ गुल्मी  : धुर्कोट गाउँपालिका ५ वस्तुस्थिति ‘विचित्र गुफा’को सुचना केन्द्र स्थापना गरिने भएको छ । केन्द्रको स्थापनाका लागि निर्माण गर्न थालिएको भवनको आइतबार सोहि क्षेत्रका प्रदेश सासंद दिनेश पन्थीले शिलन्यास गरे ।
शिलन्यास कार्यक्रममा बोल्दै सासंद पन्थीले विचित्र गुफा राष्ट्रकै पर्यटकिय गन्तव्य भएकोले यसको विकास र प्रचारमा सबै एकजुट हुनुपर्ने बताए । त्यसका साथै उनले गुफाको प्रचार तथा आवश्यक प्रचारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । ५ नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाखको लागतमा सूचना केन्द्र बन्न लागेको हो ।
गत माघ १६ गतेबाट सुरु भएको काम आगामी जेठ ३१ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने विचित्र गुफा संरक्षण तथा विकास समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए । त्यसका साथै विचित्र गुफामा जाने बाटो र विजुली बत्तिको व्यवस्थापनको लागि चार लाखको लागतमा काम भइरहेको छ । यी दुईवटा योजना सम्पन्न भइसकेपछि गुफासम्म पुग्ने पर्यटकको संङ्ख्यामा बृद्धि हुनुका साथै पर्यटकलाई पनि सहज हुन अध्यक्ष भण्डारीले बताए ।
राष्ट्रकै एक महत्वपूर्ण पर्यटकिय सम्भावना रहेको विचित्र गुफा २०४५ सालमा ढेडुवा लखेट्दै जाँदा फेला परेको स्थानीय तथा धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । त्यसपछि केहि विकासका काम भएपनि विचमा भने धेरै समय अस्त व्यस्त नै रह्यो । पछिल्लो समेत स्थानीयले नै समिति बनाएर केहि रेखदेख र संरक्षण गरिरहेका छन् ।
बिचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ । सभाहलको माथि पट्टिको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ ।
शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायु, लगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको छ । गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्ग लगायत नामाकरण गरिएको संरक्षक भानुभक्त भण्डारीले बताए । ‘विचित्र गुफा प्रवेश गरिसकिपछि यसप्रति आकर्षित नहुँने त कोहि हुँदैन् ।’ संरक्षक भण्डारीले भने, ‘गुफाभित्रका विभिन्न आकृतिहरु, कलात्मक वस्तुहरु, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरुले विचित्र गुफा साँच्चिकै विचित्र छ ।’ विचित्र गुफा कुल १८५ मिटर अध्ययन गरिएको छ । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थन र निकै कलिला चट्टानहरु रहेका छन् ।
गुफालाई पर्खाल उठाएर संरक्षण गर्नुका साथै वरिपरि सिडी चिनेर केहि सहज बनाइएको छ । अनुसन्धान भए सम्भवतः नेपालकै ठुलो हुन सक्ने यस गुफाका अझै धेरै कुरा लुकेरै बसेका छन् । गुफा व्यवस्थापनका लागि गठन भएको समितिले दुई तलासम्म अध्ययन गरिएको छ । तर अन्य तलाहरु र त्यस भित्र भएका छुट्टै सुरुङ्गहरुको उत्खनन् र अनुसन्धान हुन नसकेको स्थानीय राम भण्डारीले बताए ।

SHARE