ओकेबाजेद्धारा रामपुरको कालिका आधारभुत विद्यालयमा अक्षयकोष स्थापना

0
493

सुशीला रेग्मी

रामपुर (पाल्पा), २ चैत  :  पाल्पाको रामपुर नगरपालिका वडा नं ४ स्थित कालिका आधारभुत विद्यालयलाई जापानीज नागरिक काजुमासा काकीमी (ओकेबाजे) ले अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

उहाँले यहाँका विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनी रु एक लाख बराबरको अक्षयकोष स्थापना गरी सहयोग गर्नुभएको हो । जापानीज नागरिकले यहाँ आएर गरेको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग मिलेको प्रधानाध्यापक सोमबहादुर सेनले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा आयस्रोत कम हुदा पछाडी परेको यस विद्यालयमा हालसालै यहाँका स्थानीय, सरोकारवाला, अभिभावक लगायत ४४ जनाले एकै पटक अक्षयकोष स्थापना गरी सहयोग गरिदिनुभएको छ । हालसम्म विद्यालयमा रु नौ लाख बराबरको रकम अक्षयकोष स्थापना भएको शिक्षक रामबहादुर रानाले जानकारी दिनुभयो ।

सहयोगदाता ओकेबाजेले करिव २५ वर्ष यता पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । उहाँले नवलपरासी र पाल्पाका हालसम्म दुई सय ५० विद्यालयमा सहयोग गर्नुभएको छ ।

विद्यालय भवन निर्माण, अक्षयकोष स्थापना, विद्यार्थीलाई स्कुल पोशाक, झोला लगायत विविध क्षेत्रमा सहयोग गरेको ओकेबाजेले बताउनुभयो । उहाँले खानेपानी, सिंचाई, स्वास्थ्य, आमा समुह लगायत धेरै क्षेत्रमा आर्थिक सहयोग गर्नुभएको छ ।

SHARE