रामपुरमा समुहमा लगाइएको आलुको उत्पादन बढ्यो, खेतबाटै आलु बेच्न पाउँदा कृषक उत्साहित

0
879
फाइल फोटो

सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ फागुन  :रामपुरका महिलाहरुलाई यतिबेला आलु बिक्रि गर्न भ्याईनभ्याई छ । समुहमा लगाएको आलुको उत्पादन बढेपछि आलु बिक्रि गर्ने चटारो छ ।

खेतबाटै आलु बिक्रि भएपछि महिलाहरु उत्साहित बनेका छन् । घरायसी प्रयोजनका लागी मात्र आलु लगाउँदै आएका यहाँका कृषक समुहमा मिलेर बिगत तीन वर्ष यता आलु लगाउने गरेका छन् ।

यो वर्ष अघिल्ला वर्षको तुलनामा आलुको उत्पादन बढेपछि व्यवसायमा हौसला मिलेको नदी किनार आयआर्जन महिला कृषक समुहका अध्यक्ष भगवति देवकोटाले बताउनुभयो ।

समुहले यसवर्ष करिव नौ रोपनी जग्गामा आलु लगाएको हो । वडा कार्यालयको सहयोगमा लगाइएको पाँच क्वीण्टल आलुबाट ४० क्वीण्टल आलु उत्पादन भएको समुहका सचिव सीता देवकोटा बताउनुहुन्छ ।

“यसवर्ष अघिल्ला वर्षको तुलनामा आलुको उत्पादन बढेको छ, आलु बिक्रिबाटै समुहले रु एक लाख बराबरको आम्दानी गरेको छ” उहाँले भन्नुभयो । खेतबाटै आलु बिक्रि हुदा अन्यत्र आलु बेच्न जानुपर्ने झण्झट नभएको उहाँको भनाई छ ।

कृषकले खेतबारीमै कृषि शाखा कार्यालय रामपुरबाट आलु लगाउने प्रबिधि सम्बन्धी सेवा पाएपछि यो वर्ष आलुको उत्पादन बढेको हो ।

बिगतका वर्षमा भन्दा यसवर्ष कृषकले प्राबिधिक सल्लाह लिएर आलु लगाउने गरेको र बेला बेलामा कृषि प्राबिधिक संग परामर्श लिने गरेकाले उत्पादन राम्रो भएको नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

“अहिले कृषकले उत्पादन बढाउन प्राबिधिक संग सोधपुछ गर्ने, खेतबारीमा बाली अवलोकन गर्न बोलाउने र सामान्य समस्या परेमा प्राबिधिकलाई खबर गरेका कारण पनि उत्पादनमा बृद्धि आएको छ” शाखा प्रमुख पाण्डेयले भन्नुभयो ।

रामपुर नगरपालिका वडा नं ६ को कार्यालयले यसवर्ष आलु खेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा एक सय ५० रोपनी क्षेत्रफलमा करिव ६० क्वीण्टल जनकदेव जातको आलुको वीउ अनुदानमा वितरण गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

“आलु खेतीबाट रामपुरलाई आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ लाई पकेट क्षेत्र निर्धारण गरी आलु उत्पादनलाई जोड दिएका हौँ” अध्यक्ष न्यौपानेले भन्नुभयो ।

कृषकले उत्पादन गरेको आलुले बजार नपाएमा शित भण्डारण गर्ने व्यवस्था पनि वडा कार्यालयबाट गरिने उहाँले बताउनुभयो ।

तालपोखरा कृषक समुहले तीन क्वीण्टल आलुबाट रु ६० हजारको आम्दानी गर्न सफल भएको समुहका अध्यक्ष मित्रा ढकाल बताउनुहुन्छ ।

“समुहका छ जना महिलाहरु मिलेर आलु लगाएका हौँ, घरायसी प्रयोजनका लागि राखेर खर्च कटाएर ६० हजारको आलुबाट आम्दानी लिइयो, आलु खेतीमा आबद्ध छ जनाले १०÷१० हजार लिइयो” ढकालले भन्नुभयो ।

पाँच रोपनीमा साढे तीन क्वीण्टल वीउ लगाएको कंडेलबारी कृषक समुहले करिव ३० क्वीण्टल आलु बिक्रि गरी रु ८० हजार बराबरको आम्दानी लिएको सदस्य हुमा देवकोटाले बताउनुभयो ।

सामुहिक आलु खेतीले महिलाहरुलाई आयआर्जनतर्फ आकर्षित बनाएको छ । साढे दुई रोपनी क्षेत्रफलमा साढे एक क्वीण्टल लागु लगाएको कालीआँप कृषकले समुहले करिव २२ हजार बराबरको आलु बिक्रि गर्न सफल भएको अध्यक्ष दुर्गा पौडेल बताउनुहुन्छ ।

यहाँ लगाइएको आलु प्रतिकिलो रु ३० देखि ३५ सम्ममा खेतबाटै धमाधम बिक्रि भइरहेको छ । व्यापारी तथा ग्राहकहरु खेतमै पुगेर आलु खरिद गर्न थालेपछि आलु खेतीमा कृषकको आकर्षण बढेको छ ।

बिक्रिका लागि बजार धाउन नपरेपछि अर्को वर्ष आलु खेतीलाई बढाउने महिलाहरु बताउँछन् । रामपुर नगरपालिकाका सबैजसो क्षेत्र आलुका लागी राम्रो रहेको छ ।

आलु बिक्रिका लागि बजार सहज, झट्ट नकुहिने, मुल्य राम्रै पाएपछि समुहमा कृषकले आलु लगाउन सुरु गरेका हुन् । रामपुर नगरपालिका क्षेत्रमा करिव दर्जन बढी समुहले सामुहिक रुपमा आलु लगाउँदै आएका छन् ।

नगरको एक वडा एक उत्पादन कार्यक्रमले बाहिरबाट रामपुर बजारमा भित्रने आलुलाई कम गर्न आलु उत्पादनमा जोड दिइएको हो ।

SHARE