रामपुरका नगर प्रमुख रमणबहादुर थापाको तलवभक्ता सामाजिक क्षेत्रमा

0
445

सुशीला रेग्मी

रामपुर (पाल्पा), २४ फागुन  : रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफुले पाउने तलवभक्ता सामाजिक क्षेत्रमा खर्चनु भएको छ । नगर प्रमुख थापाले आफुले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतीका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतीका लागि २७ महिनाको तलवभक्ता नौ लाख नौ सय नौ रुपैयाँ बराबरको रकम सहयोग गर्ने बताउनुभयो ।

“आफुले पाएको तलवभक्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलवभक्ताले सामाजिक विकास र अशक्तको लागि केही भएपनि राहत पुग्नेछ भनी सहयोग गरेको हु” नगर प्रमुख थापाले भन्नुभयो ।

जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिंगो विकासमा लागेको उहाँले बताउनुभयो ।

नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिव परिवारमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले सामाजिक संघ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गर्नुभएको छ ।

रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दुधर्म अनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो ।

गौशालाको थप स्तरोन्नती गर्नका लागि नगर प्रमुख थापाले आफुले पाउने तलबभक्ता सहयोग गर्नुभएको हो ।

SHARE