पाल्पा रामपुरका महिलाहरु सामुहिक सर्फ उत्पादन गर्दै

0
621

सुशीला रेग्मी

रामपुर (पाल्पा), २४ फागुन  :पाल्पा रामपुरका महिलाहरु आयआर्जन गर्न लुगाधुने सर्फ उत्पादन सुरु गर्न थालेका छन् । रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समुहका महिलाहरुले समुहमा सर्फ उत्पादन सुरु गरेका छन् ।

यहाँका पाँच जना महिलाहरुले आयआर्जन लिन र फुर्सदको समय सदुपयोग गर्दै व्यवसायिक तवरले सर्फ उत्पादनको थालनी गरेका हुन् ।

समुहमा आबद्ध पाँच जना महिलाहरु मिलेर तालिम लिएर आएपछि पहिलो चरणमा परिक्षणका रुपमा करिव ३० हजार बराबरको सर्फ उत्पादन गरिसकेको सबिता अर्यालले बताउनुभयो ।

“बिहान साँझ त घरायसी कामधन्दा दिनभर खासै काम हुदैनथ्यो, सर्फ बनाउने तालिम लिएर आएपछि फुर्सदको समय सुदुपयोग भएको छ” उहाँले भन्नुभयो ।

महिलाहरुले अहिले सुरुको समय भएकाले थोरै थोरै रकम उठाएर सर्फ उत्पादन सुरु गरेको समुहका अर्का सदस्य दिलमाया श्रेष्ठ बताउनुहुन्छ । बिस्तारै लगानी बढाउँदै उत्पादनलाई बृद्धि गरी फुर्सदमा रहेका महिलाहरुलाई यस कार्यमा सहभागी बनाउने श्रेष्ठको भनाई छ ।

पहिलो चरणमा परिक्षणका रुपमा उत्पादन गरिएको सर्फको उत्पादन राम्रो रहेको र यसको प्रवद्र्धनका लागि वडा कार्यालयले सहयोग गर्ने वडा सदस्य मोहन श्रेष्ठ बताउनुहुन्छ । तालिम लिएर आएपछि महिलाहरुले यसको व्यवसायमा उत्साहजनक रुपमा लागेको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाले महिलाहरुलाई लक्षित गरी सर्फ उत्पादन तालिम दिएपछि व्यवसायिक रुपमा महिलाहरुले सर्फ उत्पादन कार्य सुरु गरेका हुन् । नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउन महिला विकास शाखा अन्र्तगत रु एक लाख ५० हजार वजेटबाट सर्फ उत्पादन सम्बन्धी तालिम दिएको सुचना अधिकारी रामहरी पाण्डेयले जानकारी दिनुभयो । तालिममा नगरका ३० जना महिलाहरुलाई दुई दिन सम्म सर्फ उत्पादन तालिम दिएपछि उनीहरुले व्यवसायिक तरिकाले सर्फ उत्पादन कार्य सुरु गरेको सुचना अधिकारी पाण्डेयले बताउनुभयो ।

महिलाहरुले घरमै बसेर पनि सर्फ उत्पादन गर्न सकिने हुदा तालिम अत्यन्तै प्रभावकारी रहेको रामपुर नगरपालिका ५ स्थित हरितक्रान्ति बहुउद्धेश्यीय महिला समुहबाट सहभागी तुलसी रेग्मीले बताउनुभयो । चुनढुंगा, सोडा, सेन्ट, क्यामिकल लगायत आठ थरीका सामानको मिश्रणबाट सर्फ बनाउन सकिने उहाँले बताउनुभयो ।

बिक्रिका लागि मात्र नभई घरायसी प्रयोजनका लागि पनि उपयोगीमुलक हुने भएकाले यसको उत्पादनमा महिलाहरु आकर्षित भएका छन् । रामपुर नगरपालिकाले महिलालाई लक्षित गरी यस पटक भने नयाँ र फरक खालको तालिम लिएर व्यवसाय गर्न सहज भएको महिलाहरु बताउँछन् ।

SHARE