दोस्रो रामपुर पर्यटन महोत्सव स्थगित

0
536

सुशीला रेग्मी
रामपुर पाल्पा : भ्रमण वर्ष २०२० लाई लक्षित गरी पाल्पाको रामपुर नगरपालिकामा आयोजना गर्न लागिएको पर्यटन महोत्सव स्थगित गरिएको छ । यही फागुन २४ देखि ३० गते सम्म हुने भनिएको पर्यटन महोत्सवको विश्वभर फैलिएको कोरोना भाईरसका कारण एक महिना सम्मका लागि स्थगित गरिएको छ ।
कोरोना भाईरसको महामारीबाट बच्न संघीय सरकार र प्रदेश पाँच सरकारले जारी गरेको सूचनालाई आधार मान्दै निर्धारण गरेको समय एक महिनालाई सारिएको हो । सरकारले मेला, महोत्सव, भोज, भतेर जस्ता जमघट तथा भीडभाड हुने, कार्यक्रम तथा योजना नगर्न सोमवार सूचना जारी गरेको थियो ।
त्यससंगै रामपुर नगर पर्यटन विकास समितिको बुधबार बसेको बैठकले आगामी चैत्र २४ गते देखि ३० गतेसम्म पर्यटन महोत्सव गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं नगर पर्यटन विकास समितिका सचिव बाबुराम अर्यालले जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाको आयोजना तथा रामपुर उद्योग वाणिज्य संघ र नमस्ते यातायात प्रालिको सह आयोजना साथै नेपाल पर्यटन बोर्ड र नगर पर्यटन विकास समितिको प्रवद्र्धनमा महोत्सव हुन लागेको हो । महोत्सवलाई लक्षित गरी विभिन्न स्थानमा छलफल, अन्र्तक्रिया लगायतका कामहरु भइरहेको थियो । नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गरी महोत्सव स्थगित गरिएको जानकारी दिएको छ ।
कालीगण्डकीमा जलयात्रा, रामपुर उपत्यकामा प्याराग्लाईडिङ्ग, पैदलयात्रा, रामपुरका धार्मिक तथा पर्यटकिय तीर्थस्थलको अवलोकन, स्थानीय कला संस्कृतिको प्रदर्शन लगायतका कार्यक्रमहरु पर्यटन महोत्सवका मुख्य आकर्षणको केन्द्र रहेको थियो । विभिन्न स्थानमा छलफल तथा अन्र्तक्रिया, प्रचार प्रसार लगायतका कार्यहरुलाई एक महिना अघि देखि अगाडी बढाइएको थियो ।
कोरोना भाइरसबाट सचेत रहन सबै नागरिकमा नगर प्रमुख रमणबहादुर थापाले अनुरोध गर्नुभएको छ ।

SHARE