रामपुरमा चलेको नवाह ज्ञान महायज्ञ सकियो

0
343

सुशीला रेग्मी
फागुन २३ पाल्पा :पाल्पाको रामपुर नगरपालिका ६ तातोपानीधाममा सञ्चालित श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ सकिएको छ । गत फागुन १२ गतेदेखि सञ्चालन भएको महायज्ञ मंगलबार सकिएको हो । गाई संरक्षणका लागि निर्माण भएको गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको यज्ञबाट झण्डै डेढ करोड दान संकलन भएको छ । नौ दिन सम्म सञ्चालन भएको यज्ञमा नगद तथा भूमी दान गरी एक करोड ४७ लाख ४७ हजार आठ सय २९ रुपैयाँ बराबर दान संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।
यज्ञको अन्तिम दिन ३१ लाख ९१ हजार आठ सय २७ रुपैयाँ दान संकलन भएको छ । सुरुवाती समयमा प्रतिकुल मौसमका बीच पनि भक्तजनहरु गौमाताको संरक्षणका लागि दान गर्न तातोपानी धाम सम्म पुगेका थिए ।
समापन कार्यक्रममा प्रदेश पाँचका प्रदेश सभा सदस्य युवराज खनालले धार्मिक कार्यक्रमले अनुशासन र सभ्यताको पाठ सिकाउने बताउनुभयो। उहाँले प्राप्त दानको सदुपयोग गरी लक्ष्य तथा योजना अनुसार अघि बढ्न आग्रह गर्दै नगरपालिकाले अघि बढाएको गाई व्यवस्थापन कार्यको प्रशंसा गर्नुभयो । प्रदेश सभा सदस्य खनालले गाई मानव स्वास्थ्य तथा धार्मिक हिसाबले अति महत्वपूर्ण भएकाले यसको संरक्षणमा सबै मिलेर हातेमालो गर्नुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी र गौमाताको संरक्षणका लागि अभियानका रुपमा कार्यक्रम गरेको बताउँदै यी दुई माताको छुट्टै महत्व रहेको बताउनुभयो । उहाँले हाम्रा विचार सिद्धान्तहरु फरक–फरक भएपनि धार्मिक कार्यले थप सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, धार्मिक अध्येता बालव्यास, युवा पण्डित नारायणप्रसाद न्यौपाने, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, दानदाता बासुदेव देवकोटा र तनहुँका समाजसेवी विष्णुभक्त सिग्देल लगाएतले जगतको सृष्टिकर्ता गौमाताको संरक्षणका लागि भएको उत्सवको महिमा ठूलो रहेको बताउनुभयो ।
श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले यज्ञ सफल बनाउनका लागि निरन्तर खट्ने व्यक्तित्वहरुलाई धन्यवाद दिनुभएको छ । मुल आयोजक समितिका अध्यक्ष न्यौपानेको अध्यक्षता, मूल आयोजक समितिका उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत, सचिव बासुदेव ढकालको सञ्चालनमा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा यज्ञ सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायणप्रसाद न्यौपानेको मुखारविन्दबाट झाकिसहित संगितमय शैलिमा कथावाचन भएको थियो

SHARE