इश्माको कोदोलाई बजारीकरणको समस्या

0
1164

सन्तोष महतारा
फागुन १९,२०७६ गुल्मी  :
गुल्मीको इस्मा गाउँपालिकाले सुरु गरेको कोदोलाई प्रर्बद्धन गरी रैथाने वालीको रुपमा संरक्षण गर्ने कार्यलाई बजारीकरणको समस्या देखिएको छ ।

कृषकहरुलाई सहि मुल्य दिन , प्रोत्साहन होस् र कृषक आत्मनिर्भर होउन् भन्ने हेतुले सुरु गरिएको कोदो प्रर्बद्धन कार्यमा बजारीकरणको समस्या देखिएको कोदो बजारीकरण समिति संयोजक तथा इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन् । सुरुमा केही व्यवसायीहरुले कोदो खरिद गर्ने भनेर मौखिक निर्णय गरेपनी अहिले तिनि व्यवसायीहरु सम्पर्कविहिन भएकोले कोदोको बजारीकरणमा समस्या देखिएको हो ।
गाउँपालिका भित्रका दुई सहकारी संस्थाले कोदो प्रबद्र्धनमा सहयोग पुराएका छन् । कोदो खरिद र बिक्री गर्ने जिम्मा सहकारी संस्थालाई दिएको इस्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रको इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेड र भविष्य निर्माण साना कृषक सहकारी संस्था लिमिटेडले कोदो प्रर्बद्धनमा सहयोग पुराएका हुन् । इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडकी ब्यवस्थापक तुल्सा भण्डारीले सहकारीले अहिलेसम्म ८० क्विन्टल भन्दा बढी कोदो कृषकबाट खरिद भइसकेको छ । अहिलेसम्म सहकारीको तिन लाख ३० हजार लगानीमा उक्त कोदो खरिद गरेपनी सहकारीले अहिलेसम्म एक किलो कोदो पनि बेच्न तथा निर्यात गर्न नसकेको ब्यवस्थापक भण्डारीको भनाई छ । कृषकबाट प्रतिकिलो ५० रुपैँयाका दरले आयात गरेको सहकारीले ५१ रुपैयाँ भन्दा बढी जति मुल्यमा पनि कोदो निर्यात गर्न सक्छ ।
दुवै सहकारीले थोरै पनि कोदो निर्यात गर्न नससकेका बेला गाउँपालिका उपप्रमुख खत्रीले सहकारीलाई कुनै चिन्ता नलिन आग्राह गरेकी छिन् । कृषकहरुलाई खुसी गराउनु जनप्रतिनिधिको दायित्व भएको भन्दै उनले सहकारीलाई एक रुपैयाँ पनि घाटा पर्न नदिने बताएकी छिन् । कोदो प्रर्बद्धन गर्ने इस्मा गाउँपालिकाको योजना निरन्तरता र पूरा गरेरै छाड्ने उपप्रमुख खत्रीको दाबी छ । कोदो इस्मा गाउँपालिकाको मुख्य वाली भएको , गाउँपालिकाभित्र खेती गरिने जमिन मध्ये करिब ७० प्रतिशत भन्दा बढीमा कोदो खेती गरिने भएकोले गाउँपालिकाले कोदो प्रबद्र्धन गर्न सुरु गरेको हो । गाउँपालिकामा मकै खेती पनि असाध्यै राम्रो हुने भएकोले अर्को बर्षदेखी मकैलाई पनि प्रर्बद्धन गरिने बताइएको छ ।
सुरुसुरुमा भएकोले वजारीकरणको समस्या देखिएपनि कोदोलाई वजारीकरणको समस्या हुन नदिने इस्मा गाउँपालिकाले जनाएको छ ।

SHARE