आर्थिक अवस्था कमजोर भएपछि सहयोगका लागि अपिल

0
330

सागर भण्डारी
फाल्गुण, १९,२०७६ गुल्मी :

मुसिकोट ७ वामी न्वाराका भिम नेपाली विभिन्न रोगले थला परेपछि उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएपछि उपचार सहयोगका लागि परिवारले अपिल गरेको हो ।
विगत केही समयदेखि मालिका ईङ्लिस बोर्र्डिङ स्कुल मुसिकोट नगरपालिका ७ वामीको विद्यालय बस चालक समेत रहेका ४० वर्षीय नेपालीलाई अहिले विभिन्न रोगले गालेपछि विस्तारामै थला पर्नुभएको छ । नेपालीको शरिरको एक भाग नै चल्दैन नत उहाँ बोल्न नै सक्नुहुन्छ त्यस्तै पेट समेत फुल्लिएको छ । दिसा पिसाब समेत अर्केले गराउनुपर्ने उहाँकी श्रीमती रुथ नेपालीले बताउनुभयो ।
बुटबलको लुम्बीनी प्रादेशिक अस्पतालमा पुगेर उपचार गराएपनि मष्तिकमा रगत जमेको र अन्य समस्या पनि रहेको भन्दै त्यहाँबाट अन्य ठाउँमा उपचारका लैजान अस्पतालले आग्रह गरेको थियो । तर अन्य अस्पतालमा लगेर उपचार गर्न आर्थिक अवस्थाले नभ्याएपछि घरमै ल्याएर राख्नुपरेको उहाँले बताउनुभयो । नेपाली १ हप्तादेखि विस्तारामै चल्न नसक्ने अवस्थामा रहनुभएको छ ।
२ वर्ष पहिले पनि उहाँलाई सुरुमा ज्वरो आउने, पेट फुल्लिने समस्या भएपछि परिवारले उपचारका लागि बुटबल लगेका थिए । उपचार गर्दा गर्दै उहाँलाई क्षयरोग भयो । क्षयरोगको उपचार पछि केही समय सामान्य अवस्थामा फर्किनुभएका नेपालीलाई फेरी त्यसको केही समयपछि मृगौलामा समस्या देखियो । मृगौलाको उपचारका लागि ६ पटक सम्म भारतको चेन्नईमा रहेको सीएमसी हस्पिटलमा उपचार पछि केही निको भएको थियो । २ वर्ष पहिले देखि विभिन्न रोगलाई जितेर बाँचेका भिमलाई फेरी अहिले अर्को रोगले गालेको छ ।
“पहिले पनि उपचार गर्दा २० लाख रुपैँया खर्च भयो बुटबलमा भएको घडेरी पनि बेचियो आफन्त छरछिमेक जताततै ऋण रहेको छ अब त उपचार गर्ने त के खाने पैसा समेत छैन्” श्रीमती नेपालीले भन्नुभयो । “पहिले छोराछोरीले बोर्डिङमा पढ्थे अलिअलि भएको पैसा पनि श्रीमानको उपचारमा सकियो अहिले बसेको घर समेत बैकंमा धितोमा रहेको छ यही घर पनि बैकंले तान्यो भने त उठीबासनै हुने भयो उहाँले भक्कानीँदै भन्नुभयो ।”
कसैले उपचारमा सहयोग गरे पहिले उपचार गराएको भारतको चेन्नईमा लगेर उपचार गर्ने धोको उहाँको छ । श्रीमानलाई गुमाउनुपर्छ की भन्ने पिरले रुथलाई समेत पिरोल्दै लगेको छ । नेपालीका १ छोरा र १ छोरी रहेका छन् । कक्षा ९ मा पढ्दै गर्नुभएका उहाँका छोरा आनन्द नेपालीले बाबा विरामी भएपछि विद्यालय समेत नगएको बताउनुभयो । “परिवारको आर्थिक अवस्था पनि राम्रो छैन् अब विद्यालय पनि पढ्न सक्दिन होला आनन्दले रुँदै भन्नुभयो ।”
छोराको उपचारका लागि १० देखि १५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उहाँका बुबा बिरेन्द्र नेपालीले छोराको ज्यान बचाई दिन सबैलाई आग्रह गर्नुभएको छ । नाती नातिनीकी बिचल्ली हुने भयो के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन उहाँले भन्नुभयो । उहाँले छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । सहयोगका लागि रुथ नेपालीको सम्पर्क नम्बर ९८६७२०३००२ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

SHARE