समाचार प्रभाव ः अरेवाकी रिमालाई सहयोग जुट्न थाल्यो

0
374

सागर भण्डारी

गुल्मी, फाल्गुण १७
गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ पौँदीअमराई अरेवाकी रिमा घिमिरेकोलाई सहयोग जुट्न थालेको छ । श्रीमानले छाडेर एक्लै बस्दै आईरहेको र आर्थिक अभावमा छोराछोरी पढाउन र दैनिक जीवनयापन गर्ननै कठिनाई भएको समाचार प्रकाशित भएपछि उनका लागि सहयोगीहरुले सहयोग गर्न थालेका छन् ।
श्रीमानले छाडेर गएको १० वर्ष भएको र अर्को तर्फ गरिबीको पीडाले तीन छोराछोरीलाई कसरी पालनपोषण गर्ने, पठनपाठन गराउने भन्ने विषयमा गुल्मी टेलिभिजनको कार्यक्रम सघंर्षका कथा, बडीगाड अनलाईन र मुसिकोट अनलाईन मिडियाले समाचार प्रकाशन प्रशारण गरेका थिए ।
रिमाको भिडियो युटुबमा हेरेर पाल्पा स्थायी घर भई हाल अमेरीकामा रहनुभएकी रिमा मल्ल मास्केले नगद १० हजार र ३ हजार बराबरको कापीकलम सहयोग गर्नुभएको छ । हाल अमेरीकामै रहनुभएकी उहाँले भिडियो हेरेपछि सम्पर्क गरेर उक्त रकम पठाईदिएपछि कार्यक्रम सघंर्षका कार्यक्रम उत्पादक दिपक नेपाली, बडिगाड अनलाईनका प्रमुख जीवन पाण्डे र मुसिकोट अनलाईन मिडिया र रेडियो पुष्पाञ्जलीका सम्पादक सागर भण्डारी लगायतले रिमा अस्थायी रुपमा बसोबास गर्दै आईरहेको घरमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो ।
साथै मेलापात गरेर बालकले स्कुलमा पढ्दै गरेको भिडियोले आफुलाई निकै भावविव्हल बनाएको भन्दै मास्केले रिमाका छोरालाई कक्षा १० सम्म अध्ययन गर्नका लागि बार्षिक रुपमा आउने सम्पूर्ण खर्च पनि सहयोग गर्ने प्रण गर्नुभएको छ । उहाँका छोरालाई यस अगाडी अध्ययन गर्दै आईरहेका सोही ठाउँमा रहेको जनज्योति माध्यमिक विद्यालयमा पठन पाठनको व्यवस्था मिलाईएको छ ।
सहयोग रकम बुझ्दै उहाँले आफ्नै दिदी बहिनी सम्झेर सहयोग गरेकोमा रिमा मास्केलाई धन्यवाद दिनुभयो । साथै आफ्नो अवस्था विभिन्न मिडियामा सम्प्रेषण गरेकोमा पत्रकारलाई आभार व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँकै अवस्थालाई बुझेर हाल जापानमा रहनुभएका रस्मीता पाठक न्यौपाने र उहाँका श्रीमान रोमाकान्त न्यौपानेले आफ्नी छोरी रोशनीको जन्मदिनको अवसरमा नगद ७ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । रिमाकी शारिरिक रुपमा अपाङ्गता रहेकी छोरीलाई पनि सहयोग गर्ने र कुनै अपाङ्ग आश्रममा लगेर राख्नका लागि छलफल भईरहेको छ ।

SHARE