रामपुरमा छाडा छाडिएका गाई संरक्षण गर्न महायज्ञ सुरु, नगर प्रमुख थापाबाट उद्घाटन

0
448

सुशीला रेग्मी
रामपुर (पाल्पा), १४ फागुन : पाल्पाको रामपुर नगरपालिकामा छाडा छाडिएका गाई संरक्षण गर्नका लागि सहयोगार्थ श्रीमद्भागत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा निर्माण भएको गौशाला परिषरमा रामपुर नगरपालिकाको संरक्षणमा आयोजना गरिएको हो । महायज्ञको सोमवार नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुभयो । गौशालाको नगर प्रमुख थापाले उद्घाटन गर्दै राष्ट्रिय जनावरको रुपमा रहेको गाई संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको बताउदै गाई हाम्रो राष्ट्रियता, सभ्यता र हाम्रो धर्र्महरु संग जोडिएकाले यसको रक्षा गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा रु २५ लाख रकम विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै गाई संरक्षणका लागि गरिएको पवित्र यस कार्यमा सहभागी भई पुण्य लाभ लिनुहुन उहाँले श्रद्धालुभक्तजनहरुलाई अनुरोध गर्नुभएको छ ।

आउँदो फागुन २० गते सम्म संचालन हुने श्रीमदभागवत नवाह ज्ञान महायज्ञ अवधीभर रु पाँच करोड दान संकलन गर्ने लक्ष्य रहेको छ । रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी दुई करोड रकम गौशालाको दीगो विकासका लागि प्रयोग गरिने नगरपालिकाले जनाएको छ । गौशाला निर्माणको विकास र धर्मशाला निर्माण गरी यो क्षेत्रलाई धार्मिक नगरीका रुपमा चिनाउन आर्थिक संकलन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गरिएको हो ।
उत्पादन दिन छाडेका गाईलाई संरक्षण गर्न र यो क्षेत्र कालीगण्डकीको आडैमा रहेकाले धार्मिक नगरीका रुपमा रामपुरलाई विकास गरी धार्मिक पर्यटन विस्तार गर्न महायज्ञ आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । यहाँ महायज्ञ पश्चात् गौशालाको थप पूर्वाधार, धर्माश्रम निर्माण गरी यहाँ आएर बसोबास गर्न चाहने ज्येष्ठ नागरिकलाई बसोबासको व्यवस्थापन गराउने योजना रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
यज्ञमा गंगा आरती, गौदान, व्रतवन्धको समेत व्यवस्था गरिएको छ । उद्घाटन हुनुपूर्व विहान ११ बजे देखि शोभा कलश यात्रा निकालिएको थियो । यज्ञस्थलबाट सुरु भएको कलश यात्रा बेझाड बजार, किसानवारी, विजयपुर, तालपोखरा हुँदै यज्ञमा पुगेको थियो । गाईलाई अघि लगाएर सुरु गरिएको यात्रामा महिला समुह, क्लव, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागीता रहेको थियो । एक जना अपाङ्गमैत्री र एक सय जना अन्य व्यक्ति अट्ने खालको सुबिधा सम्पन्न धर्मशाला बनाउने योजना छ । महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेले संगितमय शैलीमा कथावाचन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रमका रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले विगतमा भौतिक पुर्वाधारको लागी यज्ञ सञ्चालन हुँदै आएकोमा यस पटक हुन लागेको यज्ञ आफैमा फरक खालको रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा यज्ञमा धार्मिक अध्येता बालव्यास, युवा पण्डित नारायणप्रसाद न्यौपाने, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले बोल्दै महायज्ञ जगतको सृष्टि कर्ता गौमाताको संरक्षणका लागि हुने भएकाले नगरबासी मात्रै नभई सबै जना उत्सवको रुपमा सहभागी हुनु पर्ने बताउनुभयो । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रम उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत, उपाध्यक्ष पिताम्बर भण्डारीको धन्यवाद र सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो ।
गौशाला निर्माण गर्न रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा रु २० लाख र आर्थिक वर्ष ०७६÷०७७ मा रु २० लाख रकम विनियोजन गरी निर्माण कार्य थालनी गरिएको हो । अहिले ट्रष्ट निर्माण, चारैतिर घेराबार, गाई बाँध्ने काम सम्पन्न भएपछि हालसालै गाईलाई गौशाला परिषरमा लगेर बाँध्न थालिएको छ । रामपुर क्षेत्रमा छरिएर रहेका गाईहरु तथा कृषकले उत्पादन दिन छाडेपछि अन्यत्र लगेर अलपत्र छाडिएका गाईहरु संरक्षण गर्न निर्माण गरी संचालनमा ल्याइएको हो । गौशालामा करिव ६० वटा गाई रहेका छन् । गौशाला सम्पन्न नहुदा सम्मका लागि साउनबाट वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर दुई जना हेरालु राखेर गाईहरु संरक्षण गरेर राखिएको थियो । रामपुर नगरपालिका क्षेत्रमा छाडा गाईले कृषकका खेतबारीमा पुगेर अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण सुरु गरिएको हो । करिव पन्ध्र रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम भएको छ । गौशाला परिषरमा गाई लगेर बाँध्न थालेपछि यहाँका कृषकहरु अहिले खुशी भएका छन् । खेतबारीमा लगाइएका अन्नबाली खाएर रातदिन सताएर उत्पादन नै लिनै नसक्ने अवस्था रहेको थियो ।

SHARE