खानेपानी समाधानको चरणमा रेसुङ्गा नगर

0
400

टोपलाल अर्याल
गुल्मी,खानेपानीको अत्यन्तै समस्या रहेको रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या पुरा हुँदै जान थालेका छन् । रेसुङ्गा नगरपालिकाले ग्राभेटी, लिफ्ट र डिप बोरिङ्ग सिस्टम मार्फत खानेपानीका योजनाहरु सम्पन्न भइरहेका छन् । रेसुङ्गा नगरपालिका २ को सेतिखोला पातल लिफ्ट खानेपानी आयोजना संचालनमा आएको छ । आयोजनाको पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरे ।
विकासको परिभाषाभित्र खुसी खोजौ  : मन्त्री बिष्ट
खानेपानी आयोजनाको उदघाटन गर्दै बिष्टले पुर्वाधारलाई विकास भन्ने परिभाषा पुरानो भएकाले अहिले विकाससंगै खुसी आवश्यक रहेको बताए । उनले विकासका काम भइरहे पनि जनतामा असन्तुष्टि बढिरहेकाले जनताको जनताको जीवन स्तर बदल्ने र देशलाई समृद्ध बनाउन पार्टीहरुले आफ्नो प्रवृति बदल्नुपर्नेमा जोड दिए । पुर्व मन्त्री बिष्टले आफुले तम्घासमा पढ्दा लुगा धुन रैदी पुगेको र रेसुङा गएर दाउरा ल्याएको स्मरण गरे । साथै उनले पुर्खायौली समस्या समाधानको चरण अहिले सुरु भएकोमा खुसी व्यक्त गरे । राज्यको सिमित स्रोत र साधन तर नागरिकका आशा र अपेक्षा असीमित भएकाले सरकारले सोचे अनुसारको काम तत्काल देखाउन नसके पनि पाँच बर्षभित्र अधिकाश काम सम्पन्न गर्ने बताए ।
झण्डै ५ सय घर धुरी लाभाम्बित
सेतिखोला पातल लिफ्ट खानेपानी आयोजना ८० लाखमा सम्पन्न भएको रेसुङ्गा नगरपालिका २ का वडाध्यक्ष उदय बहादुर थापाले बताए । यो खानेपानी आयोजना संचालन भएपछि रेसुङ्गा नगरपालिका वडा नं १ र २ का चार सय ६० घरमा ‘एक घर एक धारा’ जडान गरिएको पन्थीले थापाले जानकारी दिए । प्रदेश ५ बाट ३५ लाख, नगरपालिकाबाट ३३ र अन्य जनश्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको हो । यो आयोजना एक बर्षमा निर्माण गरिएको छ । आठ सय ६० मिटर तलबाट पानी तानेर सदरमुकामका दुई वडामा खानेपानी वितरण गरिएको उपभोक्ता समितिका सचीव सन्तोष पन्थीले बताए । खानेपानीको मुहानमा एक लाख लिटर र धागीथुममा दुई लाख लिटरको टयाङकी निर्माण गरेर खानेपानी वितरण गरिएको पन्थीले बताए ।
साढे चार करोडको योजना सम्पन्न
रेसुङ्गा नगरपालिका १० र ११ कोे ठुलो जोरपानी लिफ्ट खानेपानी योजनाको एक हप्ता अघि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गरे । खानेपानी तथा सरसफाई विकास कार्यालयको दुई करोड ९२ लाख, नगरपालिकाको ३७ लाख ५० हजार, बिद्युत प्राधिकरणको १८ लाख र जनश्रमदान २७ लाख ५० हजार गरेर चार करोड ३३ लाख सात हजारको लागतका जोरपानी खानेपानी योजना संचालनमा आएको हो । यो योजनाबाट चार सय पाँच घर परिवारमा ‘एक घर एक धारा’ पुराइएको खानेपानी तथा सरसफाई विकास कार्यालयका इन्जिनियर प्रकाश न्यौपानेले बताए । दुई स्टेप पम्पिङ्ग गरेर खानेपानी योजना संचालन गरिएको छ । बर्षौ कुवा र पधेँराबाट खानेपानी ल्याएर पिउँदै आएका स्थानीय योजना संचालनसंगै खुसी भएका छन् ।
गाउँगाउँमा खानेपानीका योजना
रेसुङ्गा नगरपालिकाले नगरका गाउँगाउँमा खानेपानी योजना संचालन गरेको छ । रेसुङ्गा नगरपालिका साढे दुई करोडकोे कुत्ते खोला लिफ्न खानेपानी योजना वडा न. १४ मा अगाडी बढेको छ । अहिले ७० लाखको काम हुने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उनले नगरपालिकाकै वडा नं ४ र ७ मा पनि लिफ्ट खानेपानी योजना संचालन भएको जानकारी दिए । त्यस्तै वडा नं ६ मा यो बर्ष ‘एक घर एक धारा’ अभियान सम्पन्न गरिने मरासिनीले बताए ।
कार्यकाल भित्रै खानेपानी समस्या समाधान  :मेयर
नगरपालिकाका मेयर डिल्लीराज भुसालले आफ्नो कार्यकाल भित्रनै अधिकांशको खानेपानी समस्या पुरा गर्ने गरि काम गरिएको बताए । उनले रेसुङ्गा नगरपालिकाको खानेपानी समस्या समाधान गर्ने दिर्घकालिन योजना मझेङ्ग भएकाले पहिलो स्किम अन्तरगत ३५ करोडको काम केहि समयमै अगाडी बढ्ने बताए । पहिलो स्किमको काम सकिएपछि दास्रो स्किम मार्फत १५ करोडमा नगरका सवै घरधुरीमा ‘एक घर एक धारा’ पुराइने मेयर भुसालले बताए ।

SHARE