करोडौंका योजना सम्पन्न , खानेपानीको समस्या कायमै

0
390

सन्तोष महतारा , २८ माघ गुल्मी : गुल्मीमा खानेपानीको समस्या हटाउनको लागि करोडौँका दर्जनौँ योजनाहरु सम्पन्न भइसकेका छन् । तर जिल्लाका अधिकांश ठाउँमा भने खानेपानीको समस्या अझै हटेको छैन ।

मोटरबाटो पुगेको , सबैलाई पायक पर्ने तथा सहजै समस्या समाधान गरिने ठाउँमा मात्रै खानेपानी केहि हदसम्म पुगेपनी ग्रामिण क्षेत्रमा खानेपानी अझैपनी डोकोमा बोक्नुपर्ने अवस्था रहेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा ५ का टोप बहादुर नेपाली सहित ब्याडपोखरीका २० ⁄ २२ घरपरिवारले अर्झै पनि गाग्रो र डोकोको सहायताले खानेपानी बोक्दै आएका छन् । ब्याडपोखरी टोल त उदाहरण मात्रै हो ।

इस्मा गाउँपालिकासहित जिल्लाका ग्रामिण भेगमा अझैपनी डोकोमा नै खानेपानी बोकेर खानुपर्ने बाध्यता त छदै छ । यो समस्या सदरमुकामसहित बनेको रेसुङ्गा नगरपालिकामा पनि ब्याप्त नै रहेको छ । नगरपालिकाको वडा नम्बर ४ को खाम्सेपानी , भण्डारीटोल लगायतका ठाउँमा खानेपानी घण्टौँ हिडेर डोकोमका बोक्नुपर्ने अवस्था छ । सदरमुकाम तम्घास मै पनि खानेपानीको समस्या हुदै आएको छ । भनेको समयमा र भनेजति पानी आफुले प्रयोग गर्न नपाएको तम्घासका स्थानियले बताएका छन् । सदरमुकाम तम्घास केन्द्रित नै करोडौँका खानेपानी योजना सम्पन्न भए । तर खानेपानीको समस्या भने अन्त्य हुन सकेन ।

गएको सोमबार मात्रै तम्घास धागीथुममा सेतिखोला पातल लिफ्टिङ्ग खानेपानी आयोजनाको पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा विकास मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरे । जसबाट केहि हदसम्म तम्घासवासीलाई खानेपानीको समस्या हट्ने भएपनी यसले मात्रै पुर्णरुपमा खानेपानीको समस्या नहट्ने रेसुङ्गा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उदय बहादुर थापाले बताए । गएको जेठ महिनामा सदरमुकाम तम्घासलाई केन्द्रित गरी बोरिङ्ग मार्फत खानेपानीको व्यवस्था गरियो । नगरपालिकाप्रमुख डिल्लीराज भुषालले उदुघाटन गरे ।

बसपार्क नजिकैबाट ४१ लाखको लागतमा ७५ मिटर गहिराईबाट डिप बोरिङ्गमार्फत सफलतापूर्वक खानेपानीको व्यवस्था भएको थियो । त्यसभन्दा केहिदिनअघि उपल्लो तम्घासमा पनी ४८ मिटर गहिराईबाट बोरिङ्ग मार्फत खानेपानीको व्यवस्था गरिएको थियो । तर नगरपालिकाभित्र नै नगरकेन्द्रित ग्राभेटी , लिफ्ट र डिप बोरिङ्ग सिस्टममा करोडौँ रकम खर्चिएपनी खानेपानीको समस्या पूर्ण रुपले समाधान हुन सकेको छैन । नगरपालिका वरिपरी नै करोडौंका खानेपानी योजना सम्पन्न भएपनि तम्घासमा खानेपानीको समस्या कायमै रहेको स्थानीयले बताएका छन् । खानेपानी समस्याको समाधानको लागि रेसुङ्गा नगरपालिकाले तत्कालै ३५ करोडको खानेपानी योजना अगाडि बढाउन लागेको बताउँदै नगरपालिका प्रमुख भुषालले एक बर्ष भित्रै तम्घासमा खानेपानीको समस्या पुर्ण रुपले निर्मुल हुने बताएका छन् । विस्तारै खानेपानीको समस्या हट्दै गएकोले अझै केहि समय धैर्य गरी बसेमा नगरभित्र बाह्रै महिना खानेपानी पर्याप्त मात्रामा हुने नगरप्रमुख भुषालले दाबी गरे ।

SHARE