स्थानीय सरकारले जनताका भावना बुझेर काम गर्नुपर्छ :डा.चन्द्र भण्डारी

0
473

सागर भण्डारी
माघ २६,२०७६ गुल्मी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले स्थानीय सरकारले जनाताका भावना बुझेर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रथम गुल्मी मुसिकोट महोत्सवको समापन समारोहको अवसरमा प्रमुख अतिथिका रुपमा बोल्दै भण्डारीले गाउँमा रहेका विभिन्न जातजाति धर्म र सम्रदायलाई सम्बोधन गर्न स्थानीय सरकारको रुपमा गाउँगाउँमा सिहंदरबार स्थापना भएको भन्दै सरकारले जनताका भावना बुझेर काम गर्नुपर्ने बताउनुभयो ।

बहुदलको नाममा शासन सत्तामात्रै हडप्ने परिपाटी बढेको भन्दै वास्तविक जनताका पीडा अझै सम्बोधन हुन नसकेको र वर्तमान सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको उहाँको भनाई छ ।

सुशील कोईरालाको स्मृति दिवसलाई स्मरण गर्दै संविधान निर्माणको चरणमा विगतमा भएको जनयुद्ध, हिसांमा गएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याई जनताको अधिकार सम्पन्न गराउन लागि उहाँले गर्नुभएको त्याग र तपस्याकै कारण यो अवस्थासम्म देश आएको र सुशील कोईराला जस्तो तपस्वी नेताको अभाव अहिले खड्किएको बताउनुभयो ।

नेपालका पशुपति लुम्बिनी मुक्तिनाथ जस्ता धार्मिक स्थलले नेपालको पहिचान विश्व सामु पुर्याएको भन्दै नेपाल जस्तो सुन्दर देशमा पर्यटन पर्वद्धन गर्नका लागि थुप्रै सम्भाव्यता रहेको धारणा व्यक्त गर्नुभयो ।

मध्यपहाडी लोकमार्ग वामीलाई छोएर नजानुको जिम्मेवार हामी सबै हुनुपर्ने भन्दै भण्डारीले मुसिकोट नगरपालिकाले जिल्लामै उत्कृष्ट नेतृत्व पाएको बताउनुभयो । नगरपालिका उत्कृष्ट बन्नेमा आफुु विस्वस्त रहेको बताउँदै उहाँले स्थानीय जनप्रतिनिधिहरु शासन सत्ताको आडमा ठेकेदार बन्ने र भ्रष्टाचारमा लिप्त हुने परिपाटी बढ्दै गएको बताउँदै त्यसको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसगंमा भण्डारीले विगतका दिनमा सदरमुकाम तम्घास पुग्न हुने गरेको सास्तीको स्मरण गर्दै, अहिले बडीगाड खोलाका विभिन्न ठाउँमा पुलहरु निर्माण भएको र सडकको विस्तारले उक्त समस्या समाधान भएको बताउनुभयो । रिडि रुद्रवेणी वामीटक्सार सडकखण्ड बजेटकोे अभावले भन्दा पनि ठेकेदारले काम नगरिदिँदा आजसम्म भनेजस्तो स्तरोन्नती हुन नसकेको बताउनुभयो ।

वामीटक्सारको सुदीमा तीनमुखे पुल निर्माणको सम्भाव्यता अध्ययन गरी एउटा नमुना कामको थालनी गर्न सकिने बताउँदै रिडिमा निर्माण हुँदै गरेको एसियाकै नमुना पुलले गुल्मीको पहिचान अझ बढ्ने बताउनुभयो ।कृषि, पर्यटन र उद्योगको विकास बिना आर्थिक संवृद्धि नहुने बताउँदै भण्डारीले मुसिकोट महोत्सवले स्थानिय परम्परा ,कला, सस्कृतिलाई प्रवद्धन गर्ने कुरामा आफु विस्वस्त रहेको बताउनुभयो । फरक प्रसगंमा भण्डारीले नेपालको नेतृत्व तहमा युवा वर्गको आवश्यकता औँल्याउनुभयो ।

SHARE