रामपुरमा आयातित तरकारी निरुत्साहित गर्न एक वडा एक प्राबिधिक परिचालन

0
620

सुशीला रेग्मी रामपुर (पाल्पा), २५ माघ  :रामपुरमा बाहिरबाट भित्रने तरकारी निरुत्साहित गर्न एक वडा एक प्राबिधिक परिचालन गरिएको छ । नगरका दशवटै वडामा एक वडा एक प्राबिधिक छनौट गरी परिचालन गराइएको छ । बाहिरबाट विषादी प्रयोग भएका तरकारीले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनलाई बढावा दिन रामपुर नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रम संचालन गरेको छ ।

नगरको एक वडा एक उत्पादन कार्यक्रम सहज र प्रभावकारी बनाउन वडा वडामा प्राबिधिक परिचालन गरिएको हो । वडा नं १ मा पहिलो प्राथमिकता कागती, दोस्रोमा मौरी, तेस्रोमा अदुवा, वडा नं २ को कार्यालयले बाख्रा, खुर्सानी, गोलभेँडा, ३ मा एभोकाडो, बाख्रा र आलु, वडा नं ४ मा काक्रा, बाख्रा, बन्दा, बंगुर, वडा नं ५ मा गोलभेँडा, केरा र दुध निर्धारण गरिएको छ । त्यस्तै वडा नं ६ मा आलु, मौरी, बाख्रा र केरा, ७ मा घिरम्ला, करेला, कागती, कुखुरा, वडा नं ८ मा कुखुरा, सिमि, दुध र सुन्तला, वडा नं ९ मा कफि, अदुवा, बाख्रा र कुखुरा, १० मा सुन्तला, लिचि, प्याज र दुध उत्पादनलाई मुख्य पकेट क्षेत्र छुट्याइएको छ । नगरले पकेट क्षेत्र निर्धारण गरेका वडामा एक वडा एक उत्पादन कार्यक्रम सुरु भएका छन् । कृषकलाई विभिन्न जातका तरकारीका विरुवा वितरण, तालिम, कृषि सामग्री सहयोग जस्ता कार्यक्रमहरु संचालन भइरहेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“मानव स्वास्थ्यलाई स्वस्थ बनाउन, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बाहिरबाट रामपुर बजारमा भित्रने विषादी प्रयोग भएका तरकारी निरुत्साहित अभियान सफल बनाउन एक वडा एक प्राबिधिक परिचालन सुरु गरेका छौँ” नगर प्रमुख थापाले भन्नुभयो । अहिले वडा कार्यालयहरुले तरकारीका वीउ विजन वितरण गर्ने, कृषि सामग्री वितरण तथा कृषकलाई तरकारी लगाउने नयाँ प्रबिधि सम्बन्धी तालिम, गोष्ठी जस्ता कार्यक्रमहरुलाई तीव्रता दिइरहेका छन् । एक वडा एक प्राबिधिक कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाको वडा नं १ मा लुना अर्याल, २ मा क्षितिज बिक्रम खाँण, ३ मा सुरक्षा ढकाल, ४ मा युवराज नेपाली, ५ मा सुनिता बस्नेतलाई जिम्मेवारी दिइएको छ । त्यस्तै वडा नं ६ मा सिमा खनाल पाठक, ७ मा चन्द्रकला अर्याल, ८ मा सुजता अधिकारी, ९ मा रोशन जिसी, १० मा दिपेन्द्र तिमिल्सिनालाई छनौट वडाको काममा खटाइएको छ । दुई दिन कृषि शाखा रामपुरले क्षमता अभिबृद्धि तालिम दिएर सम्बन्धित वडा कार्यालयमा एक वडा एक प्राबिधिक कर्मचारी खटाइएको कृषि शाखा प्रमुख तथा नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेयले बताउनुभयो । व्यवसाय दर्ता तथा निरिक्षण, पसल, उद्योग, कृषि, पशुपंक्षी तथा उद्योगहरु निरिक्षण गर्ने, नगरपालिकामा दर्ता भएको नभएको, नविकरण भए नभएको लगायतका विवरण सङ्कलन गर्ने गरी जिम्मेवारी दिइएको सुचना अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

एक वडा एक प्राबिधिकले कृषि र पशुपंक्षी प्राबिधिक सहयोगनगरपालिका तथा वडाको काममा सहजिकरण गर्नेछन् । आर्थिक विकास परियोजना अन्र्तगत एक वडा एक प्राबिधिक कर्मचारी छनौट गरी नगरपालिकाले परिचालन गरेको हो । मौसमी समयमा प्रयाप्त तरकारी उत्पादन भएपनि बेमौसमी उत्पादन भने कमै मात्रामा हुन्छ । बिशेषगरी यहाँ आलु, लहरेबाली, बन्दा, काउली लगायतका तरकारी उत्पादन हुने गर्छन् । यहाँ ६० प्रतिशत बाहिरी बजारबाट, २० प्रतिशत छिमेकी निस्दी गाउँपालिका र २० प्रतिशत रामपुरमा उत्पादित तरकारी बजारमा खपत हुने गरेको छ । हप्तामा बुटवल लगायतका बाहिरी बजारमा २० देखि ४० टन सम्म तरकारी रामपुर बजारमा भित्रने गरेको कृषि शाखा कार्यालयले जनाएको छ । लागत र परिश्रम अनुसार मौसमी समयमा तरकारीले बजार मुल्य नपाउँदा कृषकले खेतबारीमै कुहाएर फाल्ने गरेको पाइएको छ । नगरपालिकाले यहाँ उत्पादन नहुने कृषि उपज बाहेक अरु उत्पादनलाई निरुत्साहित गर्ने भएको हो । कच्चा सामग्री भएकाले लामो समय सम्म टिकाउन नसक्दा कृषकले नोक्सान बेहोर्नु परेको छ । अब भने बाहिरी बजारबाट भित्रने तरकारी निरुत्साहित भएको खण्डमा स्थानीय उत्पादनले बजार पाउनेछ । एक वडा एक प्राबिधिक वडा वडामा परिचालन गरिएपछि प्राबिधिक सेवा सहज रुपमा पाउने भएपछि खुशी लागेको कृषक गौतमबहादुर सुनार बताउनुहुन्छ । नगरपालिकाले गत पुस १ गतेबाट बाहिरबाट आयातित तरकारी निरुत्साहित अभियान कार्यक्रम सुरु गरेको छ ।

SHARE