बिजुली बत्ती नआएपछि पोल पराल

0
692

माघ २४, २०७६ सल्यान  : घर नजिकै बिजुलीका पोल गाडिएको लामो समयसम्म पनि बिजुली बत्ती नबलेपछि स्थानीयले पोललाई टौवाको रुपमा प्रयोग गर्दै आइरहेका छन्। पोल गाडेको करिब सात वर्ष बितिसकेको छ। पोल गाडेको यतिका समय भइसक्दा पनि कसैले बिजुली जोड्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ।

गाउँपालिकाको बजेटबाट भए पनि बिजुली बत्ती बाल्नुपर्ने कालिमाटी गाउँपालिका–३ कालीमाटीका इन्द्रलाल भण्डारी बताउँछन्। ‘जनप्रतिनिधिहरुलाई सोध्दा आउँछ भनेर आश्वासन मात्र दिन्छन्,’ उनले भने, ‘गाडेका पोल पनि ढल्न थालिसके। हाम्रा बाउबाजेले टुकीको भरमै आए पनि हाम्रा छोराछोरीले पनि त्यस्तै अवस्था रहन्छ कि भन्ने चिन्ता छ।’ विद्युतका पोल गाड्दा बिजुली बत्ती बाल्न पाइने भो भनेर खुशी लागे पनि अहिलेसम्म बत्ती नबल्दा खुशी निरासामा परिणत भएको टाट्केका लालबहादुर थापाले बताउँछन्। ‘हिजोका दिनमा जंगलमा पाइने सल्लाको दियालोको भरमा दिन कटाएका थियौं,’ उनले भने, ‘घरअगाडि पोल गाड्दा बत्ती बाल्न पाइने भो भनेर खुशी लागेको थियो तर त्यो खुशी कहिल्यै आएन।’ तत्कालीन गाविसबाट खरिद गरी गाडिएका पोल प्रयोगविहीन भएको स्थानीय हुमप्रकाश केसीले बताए। गाविसले विद्युत विस्तारका लागि उपभोक्ता समितिमार्फत नौ लाख बजेटमा पोल खरिद गरिएको उनले जानकारी दिए। यता गाउँपालिका अध्यक्ष दानबहादुर केसी फागुनभित्र गाउँपालिका केन्द्रमा बिजुलीको तार तान्ने गरी तयारी भइरहेको बताउँछन्। उनले भने ‘६ वर्षअघि गाडिएका पोल साविकको गाविस हुँदा गाडिएका हुन्। कुनै योजनाबिनै नै गाडिएका थिए। अहिले टेन्डरबाट अघि बढेका छौं।’ गत वर्ष गाउँपालिकाले गरेको टेन्डरमा मुद्दा परेपछि काम हुन नसकेको बताउँदै गाउँपालिका अध्यक्ष खत्रीले अहिले टेन्डर भई सम्झौता समेत भइसकेको बताए। फागुनभित्र वडा नम्बर ६ र गाउँपालिका केन्द्रसम्म बिजुलीको तार तानी छिट्टै बिजुली बाल्ने उनको भनाइ छ।  थाहाबाट

SHARE