मुसिकोट नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु 

0
416

सागर भण्डारी
गुल्मी,माघ २३ गते  :
गुल्मीको मुसिकोट नगरपालिकामा सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । नगरवासिको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । गुल्मीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मगंलबार एक कार्यक्रमकाबीच जिल्लामा औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरेसगैं मुसिकोट नगरपालिकाले पनि कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाले ९ वटै वडाबाट पहिलो चरणमा कार्यक्रमको सुरुवात गरेको जनाएको छ । बुधवारबाट सुरु भएको कार्यक्रम अव ९ वटै वडामा बीमा दर्ता सहयागी सहजकर्ताहरुले घरघरमा पुगेर स्वास्थ्य बिमा गराउने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

साथै उहाँले नगर वासिको स्वास्थ्य अधिकार सुरक्षित राख्नका लागि स्वास्थ्य बीमा कार्यक्रम सहयोगी हुने बताउँदै कार्यक्रममा सहभागी हुन सबै नगरबासीमा अनुरोध गर्नुभयो । नगरपालिकाका नौ वटै वडामा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको उहाँको भनाई छ ।

पाँच सदस्य रहेको परिवारले ३५ सय तिरेर यो कार्यक्रममा समावेश हुन पाउने छन् । उनीहरुले बिमा गरेको परिचय पत्रका आधारमा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट एक लाख सम्मको औषधी उपचार पाउने छन् । भने पाँच सयभन्दा बढि भएमा प्रत्येक सदस्य सात सयका दरले प्रिमियम शुल्क (योगदान रकम) बुझाउनु पर्ने छ ।

प्रति थप सदस्य २० हजारका दरले अधिकतम दुई लाखसम्मको औषधी उपचार प्राप्त गर्ने बताईएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई परिचय पत्रको आधारमा निशुल्क स्वास्थ्य बिमा गरिने र स्वास्थ्य स्वयं सेविकाहरुलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुटमा बिमा गर्ने व्यवस्था रहेको सापकोटाले बताउनुभयो ।

वडा न १ मा वडाध्यक्षद्धारा पहिलो बिमा

नगरपालिकाको वडा नं १ पौँदीअमराईका वडाध्यक्ष पूर्ण बहादुर हितानले आफ्नै स्वास्थ्य बिमा गरी वडा भित्र कार्यक्रमको सुरुवात गर्नुभएको छ । सोही अवसरमा वडासचिव हेमकला पौड्यालले पनि विमा गर्नुभएको छ । स्वास्थ्य बिमा सहजकर्ता आशा काफ्लेले अध्यक्ष हितानको स्वास्थ्य बिमा गराएपछि वडाभित्र कार्यक्रम औपचारिक रुपमा सुरुवात भएको वडाका एमआईएस अपरेटर विष्णु फुल्लेले जानकारी दिनुभयो ।

उक्त अवसरमा बोल्दै वडाध्यक्ष हितानले वडा भित्र रहेका कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चीत हुन नपरोस भनी कार्यक्रम सुरु भएको भन्दै बिमा कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

वडा नं ७ मा पनि सुरु

त्यस्तै नगरपालिकाको वडा नं ७ मा पनि वडाध्यक्ष प्रकाश काफ्लेले आफ्नो परिवारका ८ जना सदस्यको स्वास्थ्य बिमा गर्दै कार्यक्रमको सुरुवात गर्नुभएको छ ।

साथै उहाँले यो कार्यक्रम अन्य सघंसंस्थाको जस्तो जीवन बिमा कार्यक्रम नभएको र सरकारकै कार्यक्रम रहेको जानकारी गराउनुभयो । नगरपालिका भित्रका नागरिकहरुले स्वास्थ्य बिमाको परिचयपत्र लिएपश्चात जिल्ला अस्पताल गुल्मी र त्यहाँबाट अन्यत्र रिफर भएको खण्डमा सोही परिचयपत्रको आधारमा १ लाख बराबरको स्वास्थ्य उपचार निशुल्क पाउने बताउनुभयो ।

SHARE