पुरानै स्वरुपमा सजिदै तानसेन, पिच सडक भत्काएर धमाधम ढुंगा विछ्याइदै

0
438

मिलन विश्वकर्मा
माघ २३, २०७६
पाल्पा : जिल्लाको सदरमुकाम तानसेन बजार पुरानै स्वरुपमा सजिन थालेको छ। मुलुकमा सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएको हो। तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुंगा छापेर यहाँ पर्यटकलाई थप आकर्षित गर्ने तानसेन नगरपालिकाको योजना छ। अहिले सडकमा ढुंगा छाप्ने कामलाई तीव्रता दिइएको छ। झण्डै एक दशक अघिसम्म तासेनका अधिकांश सडकहरुमा ढुंगा नै विछ्याइएको थियो। जुनबेला तानसेन पुरातत्विक सम्पदाको रुपमा नै परिचित थियो। ढुंगाले छापिएका सडक र पुरानाशैलीका घर, मठमन्दिरका कारण यहाँको ऐतिहाँसिक महत्व रहेको थियो।
पछिल्लो समयमा आधुनिक विकासक्रमसँगै ढुंगा निकालेर पिच सडकका रुपमा स्तरोन्नती गरियो। अहिले त्यहि पिच सडक भत्काएर धमाधम ढुंगा छाप्न थालिएको छ। जसले गर्दा तानसेन बजार पुरानो तानसेनकै रुपमा देखिन थालेको छ। आधुनिक विकाससँगै पक्की घर र पक्की सडकले तानसेनमा ऐतिहाँसिक सौन्दर्य गुमेको थियो। जसले गर्दा यहाँ कम पर्यटक आउथे।
पहिलेकै अवस्थाको स्वरुपमा तानसेनलाई देखाउन सके पर्यटकको संख्या बढ्नेमा तानसेन नगरपालिकाको अनुमान छ। त्यहि अनुसार तानसेनको मुख्य बजारको सडकमा ढुंगा छाप्ने काम थालिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए।
तानसेनस्थित भगवती मन्दिरदेखि मखनटोल हुँदै सिल्खानटोलमा रहेको एनआइसी बैंक अगाडिसम्म पहिलो चरणमा ढुंगा छाप्ने काम हुने छ।
उनका अनुसार पिच सडक भत्काएर ढुंगा सोलिंग सहित प्लाष्टरगरी त्यसमाथी मार्वलजस्तै ढुंगा विछ्याइने छ। फागुन महिनाभित्रमा तोकिएको सडकमा ढुंगा छाप्ने काम सकिने उनले बताए। ऐतिहाँसिक पर्यटकीय महत्व बोकेको तानसेन बजारलाई पुरानो स्वरुपमा बदल्न सके पर्यटकको संख्यामा वृद्धि हुने प्रमुख शाहीको दावी छ।
मुख्य बजारको रुपमा रहेको मखनटोलको तेर्सो सडक साँघुको हुँदा यहाँको व्यापार समेत राम्रोसँग चलेको थिएन्। पिच सडक भत्काएर ढुंगा विछ्याउँदा सडक फराकिलो भएको र जसले गर्दा पर्यटकलाई आवतजावतमा समेत सहज हुने स्थानीय व्यापारी रफी मियाँले बताए। यसरी छापिएको ढुंगाले यहाँ पर्यटकीय सौन्दर्यता पनि बढेको उनले बताए। ‘पुरानो शैलीमा ढुंगाले छापिएको सडकमा आन्तरिक तथा वाह्य पर्यटकको समेत आकर्षण बढ्छ’ उनले भने ‘विगतको तुलनामा यहाँको व्यापारमा समेत वृद्धि हुन्छ।’
वन्दीपुरको झलक यहिँ देखिने भएकोले पर्यटकको संख्यामा समेत वृद्धि हुने अर्का स्थानीय नारायण खड्काले बताए। ढुंगा छापिएको सडकमा सवारी संचालनमा रोक लगाएर पैदल हिड्ने व्यवस्था मिलाउन सके अझै बढी पर्यटक आकर्षित हुने उनले बताए।
ढुंगा छाप्ने कामका लागि सिएम शिवालय जेभि बानेश्वरले १ करोड ८३ लाख ११ हजार ४ सय ५५ मा ठेक्का लिएको छ। ठेक्कामा भएको सम्झौता अनुसार सडकमा ५ सय ८९ घन मिटर ढुंगा सोलिंग, ९२ घनमिटर पिसिसि र ३ हजार ८ सय ८० वर्ग मिटर सडकमा ढुंगा छाप्ने काम गर्नुपर्ने छ। जुन काम फागुन मसान्तसम्म सकिने सम्झौतमा उल्लेख छ।

SHARE