काठको अभावमा मादल बनाउने पेशा सङ्कटमा

0
749

सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ माघ  :आजभन्दा करिव दुई दशक अघि सम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुदैनथ्यो । मादल बनाएरै केहीले जीविका चलाएका पनि थिए ।

पछिल्लो समय भने हातमा सीप भएपनि मादल बनाउन सिपालु व्यक्तिका दिन भने फुर्सदिला बनेका छन् । गाउँमा काठको अभाव, बजारमा छरपस्ट तयारी अवस्थामा आएका मादल भित्रन थालेपछि मादल बनाउने पुरानो पेशा अहिले सङ्कटमा छ ।

आजभन्दा पन्ध्र वर्ष अघि पाल्पा रामपुर नगरपालिका वडा नं ८ बस्ने ५२ वर्षीय रामबहादुर गन्धर्भले मादल बनाएर राम्रै कमाई गर्नुहुन्थ्यो । त्यस समय उहाँलाई मादल बनाउन भ्याईनभ्याई हुन्थ्यो ।

गाउँघरमा हातले बनाएका मादल खरिद गर्न आउने ग्राहकको दिनहुँ भीड लाग्दथ्यो । मादल बनाएर गन्धर्भले परिवारको जीविका चलाउदै आएकोमा पछिल्ला समयमा भने काठको अभावमा पेशा नै सङ्कटमा पर्न गएको उहाँ बताउनुहुन्छ ।

“पहिला त मादल बनाएर दिन बितेको पत्तो हुदैनथ्यो, अहिले मादलप्रति खासै आकर्षण पनि छैन, व्यापारमा कमी आउँदा पेशा नै धरापमा छ” गन्धर्भले भन्नुभयो ।

उहाँले जीवनको तीन दशक समय मादल बनाएरै बिताउनुभयो । तर यो पेशा संरक्षणमा स्थानीय तह, विभिन्न संघ संस्था, व्यक्ति कसैबाट पनि सहयोग नभएकोमा उहाँ गुनासो गर्नुहुन्छ ।

“गाउँमा कसैले मादल बनाउँदैनन्, पुरानो पेशा जोगाउन भनेर निरन्तर लागि परिरहेको छु तर यसको संरक्षणमा कसैले अहिले सम्म सहयोग गरेका छैनन्” उहाँले दुखेसो पोख्नुभयो ।

अहिले गाउँघरमा पहिलाजसो काठ पनि पाइदैन । मादल बनाउन काठको समस्या परेपछि गन्धर्भले पन्ध्र वर्ष यता भने पोखराबाट घार खरिद गरेर भएपनि पेशालाई आजसम्म निरन्तरता दिनुभएको छ ।

काठको व्यवस्था भएमा पेशालाई जोगाउँदै आफुले सक्दा सम्म मादल बनाउने गन्धर्भको भनाई छ । उहाँले बाउबाजेबाट सीप सिकेर १८ वर्षको उमेर देखि व्यवसायिक तवरले मादल बनाउन थाल्नुभएको हो ।

एक वटा मादललाई साइज हेरेर रु दुई हजार देखि चार सम्ममा बिक्रि गर्नुहुन्छ । पछिल्लो समय रामपुरमा वस्ती बढ्दै जादा विभिन्न ठाउँ ठाउँमा पसलहरु खुलेका छन् ।

बाहिरबाट तयारी अवस्थामा आएका मादलले पसल ढाकेका छन् । त्यसले गर्दा पनि धेरैको आकर्षण पसलमा राखिएका तयारी मादलमा बढ्दो छ ।

बाहिरबाट बजारमा आएका मादल सस्तो मुल्यमा पाइने भएपछि पनि ग्राहकको अहिले गाउँघरमा हातले कुदेर बनाइएका मादलमा ध्यान गएको पाइदैन ।

काठ नपाउँदा पुरानो पेशा जोगाउनै समस्या परेकाले आफुले सीप सिकेपनि व्यवसायिक रुपमा अंगाल्न नसकेको गन्धर्भका छोरा बेगबहादुर गन्धर्भ बताउनुहुन्छ ।

“हातमा सीप छ तर बजार नभएपछि अन्यत्र पेशा व्यवसाय गर्नैप¥यो, कतैबाट काठको व्यवस्थापन भइदिएमा मादल बनाउने पेशालाई नै अगाडी बढाउने धोको छ” उहाँले भन्नुभयो ।

अझैपनि केहीले त राम्रो मादल चाहियो भनेर गाउँमै हातले बनाएका मादल खोज्न आउने गरेको उहाँ बताउनुहुन्छ । मादल बनाउने पेशा संरक्षणमा कसैको ध्यान नजादा पेशा नै धरापमा पर्न थालेको छ ।

मादल बनाउने पेशा संरक्षण गर्न आवश्यक सामग्री सहयोगका लागि अहिले सम्म वडा कार्यालयमा माग नआएको रामपुर नगरपालिका वडा नं ८ का अध्यक्ष बोमबहादुर नामजाली बताउनुहुन्छ ।

“सम्बन्धित पेशामा आबद्ध व्यक्तिले मादल बनाउने पेशालाई जोगाउदै यसैबाट आयआर्जन गर्न वडा कार्यालयमा आवश्यक सहयोग माग गरेमा वडा कार्यालयले सहयोग गर्नेछ” वडा अध्यक्ष नामजालीले भन्नुभयो ।

SHARE