विपत व्यवस्थापनका लागि योजना बनाउने पहिलो स्थानीय तह बन्दै मुसिकोट नगरपालिका

0
398

सागर भण्डारी,गुल्मी माघ २१ गुल्मी  :गुल्मीका १२ स्थानीय तह मध्ये मुसिकोट नगरपालिका विपत व्यवस्थापन र न्यूनिकरणका लागि योजना बनाउने पहिलो नगरपालिका बन्दै छ ।
विपतको योजना, पूर्वतयारी, प्रतिकार्य, जोखिम न्युनीकरण, उद्धार, राहत, पुर्नःस्थापना, पुनर्निर्माणका लागि मगंलबार स्थानीय विपत तथा जलवायु उत्थानशील योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मुसिकोट नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी गुल्मीद्धारा सञ्चालित विपत उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल दोस्रो चरणको कार्यक्रम अन्तर्गत गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा प्राकृतिक एवम् मानवजन्य विपत व्यवस्थापनका पूर्व तैयारी, खोज, उद्धार, राहत र विपत् आउनुपूर्वका तयारीका साथै विपत पश्चात हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि गर्न सकिने तैयारीका विषयमा कार्यक्रम अधिकृत डिबी पछाई र कार्यक्रम सुपरभाईजर थानेश्वर अर्यालले सहजीकरण गर्नुभएको थियो । विपत व्यवस्थापनका लागि तदारुकता रही संस्थागत तथा संरचनागत व्यवस्था गर्नका लागि के गर्ने भन्ने विषयमा नगरपालिकाका ९ वटै वडाका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी र सरोकारवालाहरु सगं छलफल गरिएको थियो ।
विपतको जोखिममा नगरपालिका
भौतिक, सामाजिक तथा धारणागत सकंटापन्नताले नगरपालिका विपतको उच्च जोखिममा रहेको पाईएको छ । नगरपालिकामा यसअगाडी भएका प्राकृतिक विपत्तिका घटना मध्ये आगलागी, भुकम्प, बाढी पहिरो,आगलागी,सडक दुर्घटना, घरेलु हिशां,माहामारी, र जगंली जनावरको आतकंलाई दृष्टिगत गर्दा विपतको जोखिममा रहेको पाईएको हो । वडा कार्यालयहरुबाट सकंलन गरिएको विपतका घटनाहरुको तथ्याङ्कलाई विश्लेषण गर्दा यस्तो पाईएको हो ।
बाढी पहिरोको उच्च जोखिम
नगरभित्र भएका विपतका घटना मध्ये सबैभन्दा बढी बाढी पहिरोको घटनाबाट उच्च क्षति भएको पाईएको छ । भौगोलिक संरचनामा भिरालो तथा नदीको छेउछाउमा बस्ती भएका कारण बाढी पहिरोलाई विपत जोखिमको पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै दोश्रोमा नगर आगलागीको उच्च जोखिममा रहेको बताईएको छ । भने त्यसपछि भुकम्प, सडक दुर्घटना,स्वास्थ्य समस्या,खानेपानी, जनावर आतकं,घरेलु हिशां, कृषि र पशुमा लाग्ने रोग,करेन्ट, हावाहरी,चट्याङ्,अतिवृष्टी, खडेरीलाई क्रमशः उच्च देखि न्यून जोखिमका रूपमा पहिचान गरिएको छ
नगरपालिकाको तयारी
नगरपालिका भित्र रहेका विपतको पहिचानसगैं त्यसको न्यूनिकरणका लागि नगरपालिकाले अब तैयारी थाल्ने छ । जोखिममा रहेका विषयवस्तुलाई नगरपालिकाबाट बजेट विनियोजन गरि त्यसको न्यूनिकरणका लागि तैयारी सुरु गरीने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । सम्बन्धित शीर्षकमा सचेतना जगाउने, विपत पछि हुने उद्धारका कार्यलाई प्रभावकारी बनाउने, स्थानीय समुदायलाई विपतप्रति जागरुक बनाउने, विपतको समयमा जोखिममा रहेको समूह विशेष गरी महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्तिउपर हुन सक्ने घटना रोकथामको लागि विशेष सतर्कता अपनाई सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उहाँले जानकारी दिनुभयो ।

SHARE