हराएका शिक्षक मृत फेला

0
626

माघ २०, २०७६ पर्वत : जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गाबहादुर राना आइतबार मृत अवस्थामा फेला परेका छन्।

राना छिस्तीको भडकुवामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। शिक्षणका लागि छिस्तीमै डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते फलेवासस्थित घरबाट अध्यापनका लागि छिस्ती हिँडेपछि आएपछि सम्पर्कविहीन थिए। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार उनको शव सडकदेखि केही तल बारीको कुनामा फेला परेको हो। शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनी घरबाट निस्केको साँझ अत्याधिक मदिरा सेवन गरेको र स्वास्थ्यअवस्था समेत राम्रो नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक दिपक रिजालले बताए।

‘हामी अनुसन्धानमै छौं’ रिजालले भने, ‘घटनाको अवस्था सामान्य नै देखिन्छ।’ रानाको शव प्रहरीले धौलागिरी अञ्चल अस्पताल बागलुङमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको छ। यसरी नै रौतहटको इशनाथ नगरपालिकामा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको इशनाथ नगरपालिका ८ मत्सरीका २० वर्षीय युवा एतेशामुल हक मृत अवस्थामा फेला परेको हो। विगत ५ दिनेदेखि बेपत्ता भएका ती युवकको लास शव खेतको पानीमा फेला परको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। एतेशामुलको शव सोमबार अकोलवाको अडुवा नदीको किनाराको खेतमा फेला परेको हो। नरकटीमा रहेको नातेदारको घरबाट माघ १५ गते बेलुकी हिडेका एतेशामुल बाटोबाटै सम्पर्कबिहीन भएका थिए।

सम्पर्क बिहीन एतेशामुलको मोटरसाइकल राजपुर नगरपालिकास्थित अकोलवानजिकै खेतमा फेला परेको थियो। रौतहट प्रहरीेले कल डिटेलबाट सुरु अनुसन्धानका क्रममा उनको हत्या आशंकामा दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहटमा राखिएको छ।

छतबाट खसेर बालिकाको मृत्यु

त्यसैगरी बागलुङ नगरपालिका १ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको ज्यान गएको छ। बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको घरको छतमा खेल्दै गर्दा खसेर मृत्यु भएको हो। रामरेखामा आफन्तको घरमा भेटघाटका लागि आएको बेला आइतबार एक तला माथिबाट भुँइमा लडेर बिक गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर अस्पतालले आइतबार राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।

SHARE