माघ १९, २०७६ दाङ : नेपाल पत्रकार महासंघ, दाङ शाखाका सहसचिव गोकर्ण पौडेलमाथि हातपात भएको छ। पौडेलमाथि कुटपिट गर्ने बबई गाउँपालिका ५ हापुरे निवासी मोहन भण्डारी र सागर सुनारीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ। उनीहरूले पत्रकार पौडेलमाथि शनिबार हापुरे बजारमा कुटपिट गरेका थिए। रेडियो हापुरेबाट निस्केर कोठामा जाँदै गर्दा उनीहरूले आफूमाथि कुटपिट गरेको पौडेलले बताए। पत्रकारमाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अध्यक्ष सवीन प्रियासन र सचिव भूपेन्द्र वलीले आइतबार विज्ञप्ति प्रकासित गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीतका घटनाप्रति घोर निन्दा प्रकट गर्दै दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न प्रशासनसँग मागसमेत गरेका छन्। घटनावारे बुझ्न पत्रकार महासंघको टोली आइतबार घटनास्थल हापुरे लागेको हो।