लक्ष्मीनारायण गुठी समुदायमा हस्तान्तरण गरेपछि संरक्षणमा स्थानीयको चासो

0
775

सुशीला रेग्मी

रामपुर (पाल्पा), १८ माघ  :रामपुरको धार्मिक नगरी रामघाटको पुरानो लक्ष्मीनारायण गुठी समुदायमा हस्तान्तरण गरेपछि संरक्षणमा स्थानीयको चासो बढेको छ ।

पौराणिककाल देखि नै रेग्मी परिवारले मात्र संचालन गर्दै आइरहेको गुठी समुदायमा हस्तान्तरण भएपछि स्याहार संरक्षण तथा विकासमा रामपुरका स्थानीय लागेका छन् ।

विसं १८७० को समयतिर स्थानीय तुल्सीराम रेग्मीलाई राती सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पुजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको हो ।

गुठीको नामबाट संचालित यस मन्दिरमा रेग्मी परिवारको मातहतमा रहेर पुजाआजा भइरहेको थियो । विसं २०७५ साउन २६ गते रेग्मी परिवारले यस गुठीलाई सबैको साझा बनाउन समुदायमा हस्तान्तरण गरेको लक्ष्मीनारायण गुठी संचालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ ।

“रेग्मी परिवारबाट मात्र संचालित हुदा स्याहार संरक्षणको अभाव, भौतिक पूर्वाधारमा कसैले चासो नदिनु र गुठीलाई सबैका साझा बनाएर पर्यटकिय तथा धार्मिक क्षेत्रका रुपमा विकास गर्न समुदायमा हस्तान्तरण गरेका छौँ” उहाँले भन्नुभयो ।

गुठी समुदायमा हस्तान्तरण भएपछि रामपुरवासीले यहाँको पर्यटन तथा धार्मिक विकासमा धेरै चासो र सहयोग गर्न थालेको उहाँले बताउनुभएको छ ।

लक्ष्मीनारायण मन्दिर संचालनका लागी रामपुर नगरपालिका वडा नं ४ र ५ मा करिव दर्ता भएको एक हजार रोपनी र दर्ता नभएको एक हजार एक सय रोपनी जग्गा रहेको छ ।

जग्गा मोहीयारले बुझाउनुपर्ने कुत नबुझाउँदा भने मन्दिर संचालनमा समस्या परेको छ । गुठीको नाममा रहेको जग्गा भोगचलन गर्ने मोहीयारबाट वर्षमा ७० मुरी धान मन्दिरमा बुझाउनुपर्ने छ ।

केही मोहीयारले समयमा नै जग्गाको कुत नबुझाउँदा मन्दिरको पुजापाठमा समस्या परेको मोहीयार प्रतिनिधि किर्तिनाथ श्रेष्ठ बताउनुहुन्छ ।

“मोहीयारले भगवान्को नाममा रहेको जग्गाबाट जीविका चलाउने तर थोरै आयस्था भगवान्को नाममा केही मोहीयारले छुट्याएर नदिदा मन्दिरमा पुजापाठ चलाउन समस्या छ” उहाँले भन्नुभयो ।

मोहीयारले तोकेको समयमा गुठीलाई बुझाउनुपर्ने आयस्था नुबझाउँदा बेला बेलामा विवाद बल्झिने गर्दछ । गुठीको नाममा रामपुर नगरपालिका वडा नं ४ खोप्टारमा करिव १० रोपनी जग्गा पर्खालले घेरिएको र हाल जिर्ण अवस्थामा रहेको एउटा धर्मशाला पार्टी भवन पनि रहेको छ ।

पुरानै शैलीमा लक्ष्मीनारायणको मन्दिर पुनः निर्माण

कालीगण्डकीवेशीको पवित्र तीर्थस्थलका रुपमा रहेको रामघाटको ऐतिहासिकलाई जोगाउन पुरानै शैलीमा लक्ष्मीनारायणको मन्दिर निर्माण गरिएको छ । भुकम्पले क्षति पुगेको मन्दिरलाई पुनः निर्माण गरी पुरानै आकार दिइएको छ ।

पुरातात्विक विभागबाट आर्थिक वर्ष २०७५÷०७६ मा रु १५ लाख र आ.व. ०७६÷०७७ मा रु २८ लाख गरी रु ४२ लाखको लागतमा मन्दिर निर्माण गरिएको लक्ष्मीनारायण गुठी संचालक समितिका सचिव मिनराज रेग्मीले बताउनुभयो ।

रामपुरको चिनारीका रुपमा रहेको पुरानो जिर्ण मन्दिरलाई पुरानै कलात्मक शैलीमा निर्माण गरिएको छ । यहाँ रामनवमी, कृष्णाजन्माष्टी, अक्षयतृतिया पर्व र नयाँ वर्षका दिन बिशेष मेला लाग्दै आइरहेको छ ।

विसं २०७४ देखी दशवर्षे गुरुयोजना तयार पारेर २७ बुँदामा भौतिक पूर्वाधार निर्माणका कामहरु धमाधम भइरहेको छ ।

गेट, धार्मिक वस्ती, सानो गौशाला, सुन्दर प्रतिक्षालय, त्रिदेव मन्दिर, विवाह मण्डव, योग गृह, ज्येष्ठ नागरिक स्याहार केन्द्र, सभाहल, अतिति गृह, किरियाघर, पानीको ट्याङ्की, वनभोजस्थल, गुरुकुल शिक्षाको सुरुवात, शौचालय र भान्साघर निर्माण गर्ने गुरुयोजनामा समेटेर काम गरिएको छ ।

पुरानो लक्ष्मी नारायणको मन्दिर, मन्दिर प्रवेशद्धार, पुरानो पौवा, पानीको फोहरा सहित शालिकराम स्तम्भ, पानीको ट्याङ्की, दुई कोठे आरसीसी धर्माश्रम, एक सय आठ पिपलका बगैचा, फलफुलका बगैचा, नदीको किनारमा रहेको प्रतिक्षालय, मन्दिर परिषर भित्र रहेको पुजारी बस्ने र साधु सन्त बस्ने दुई वटा घर, मन्दिर परिषरको पर्खाल र चौतारीहरु निर्माण गरी संरक्षण गर्न थालिएको छ ।

एक÷एक वटा पुजारी र महन्त निवास, शालिकराम स्तम्भ निर्माण, शौचालय, धर्मआश्रम, पानी ट्याङ्की निर्माणको काम सम्पन्न भएको भइसकेको छ ।

पौराणिक किम्बदन्ती अनुसार त्रेतायुगमा भगवान् राम बनवास जादा कालिगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुदा यस घाटको नाम रामघाट हुन गएको हो ।

कालीगण्डकीमा स्नान गरी नदीको पवित्र जल लक्ष्मीनारायण मन्दिरमा चढाएर रामपुर नगरपालिका ३ र ४ मा पर्ने सीताकुण्डमा पुगेर जल मिसाएर पुजाआजा गरी पुनः लक्ष्मीनारायण मन्दिरमा नै आएर पुजा गर्ने चलन रहेको छ । यसो गरेमा पुण्य प्राप्ती हुने विश्वास गरिन्छ ।

रामघाट पौराणिककाल देखी नै तीर्थस्थलको रुपमा चिनिदै आएको पवित्र धार्मिक तीर्थस्थल हो । भगवान् रामचन्द्रले त्रेता युगमा बनवासको क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनी बोलाई यज्ञ गरेको नजिकै रहेको रामगुफामा बसोबास गरेको तथ्य पाइन्छ ।

द्धापर युगमा पाण्डवहरु पनि यही ठाउँमा स्नान गरेको र शुक्ला गण्डकीको पानी कृष्णगण्डकीको रामघाटमा ल्याउन तनहुँको भिमादमा बाँध बाँधेको र शिवजीको वाणको सहयोगबाट जल आउने गरेको तथ्य गंगामहात्म्ये, बराहपुराण र शिव पुराणमा उल्लेख छ ।

पुराणकै तथ्य अनुसार रामघाटमा सदा ३३ कोटी भगवान्ले बास बस्ने पवित्रस्थल भनी उल्लेख गरेको पाइन्छ । त्यसैले रामघाट क्षेत्र पूर्वी पाल्पाकै सबैभन्दा पुरानो पौराणिक कथामा उल्लेख भएको भगवान्हरुको पनि तीर्थस्थल भएको मानिन्छ ।

पहिले पहिले पैदल हिडेर एक दुई दिनको समय खर्चिएर बासै बस्ने गरी दर्शन गर्न आउने गरेको बुढापाका बताउँछन् ।

रामपुर नगरपालिकाले रामघाट क्षेत्रलाई उत्कृष्ट पर्यटकिय क्षेत्रका रुपमा समावेश गरेको छ । कालीगण्डकीको तट, कालीगण्डकीको करिडोर नजिकै रहेकाले पनि यो क्षेत्रमा अवलोकन गर्न जानेको अहिले चहलपहल बढ्दैछ ।

मन्दिरसम्म पुग्ने सडक सुबिधा भएपछि यहाँ घुम्न जानेको आकर्षण बढ्दो छ । बिशेषगरी शनिवार र सार्वजनिक विदाका दिन रामघाट परिषर घुम्न पुगेका आन्तरिक पर्यटक कालीगण्डकी, रामघाटको रमाइलो दृश्यसंग लोभिन पुग्छन् ।

SHARE