रामपुरमा भ्रमण वर्षलाई लक्षित गर्दै जलयात्रा र प्याराग्लाईडिङ्ग

0
939

सुशीला रेग्मी

रामपुर (पाल्पा), १७ माघ  :आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक समेत आकर्षित गर्ने सोँचका साथ पर्यटक लक्षित गतिविधि सञ्चालन गरिने भएको छ ।

पर्यटक लक्षित गतिविधि बढाउने सोँचका साथै अघि बढेको रामपुरमा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी पाल्पाको कालीगण्डकीमा जलयात्रा र प्याराग्लाईडिङ्ग सञ्चालन गर्न लागिएको हो ।

रामपुर नगर पर्यटन प्रवद्र्धन समितिको आयोजनामा आउँदो फागुन २४ गतेदेखि साताव्यापी कालीगण्डकीमा जलयात्रा, बाहुनडाँडाबाट प्याराग्लाईडिङ्गका साथै यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल सरकारले सुरु गरेको भ्रमण वर्ष सफल पार्न रामपुरमा यसवर्ष न्युनतम पाँच सय बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको नगर स्तरिय पर्यटन प्रवद्र्धन समितिका संयोजक तथा नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“रामपुरमा आन्तरिक पर्यटकको राम्रै आवतजावत भएपनि अहिले सम्म बाह्य पर्यटक नभित्रिएकाले यस पटक पाँच सय जति बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेका छौं,” उहाँले भन्नुभयो ।

यो आँफूहरुको सुरुवाती लक्ष्य भएको बताउँदै उहाँले यस अवसरमा आएका पर्यटकलाई यहाँका पर्यटकीय स्थलको अवलोकन, कालीगण्डकीमा जलयात्रा र बाहुनडाँडाबाट प्याराग्लाईडिङ्ग गराउने सोच राखिएको जानकारी दिनुभयो ।

साताव्यापी रुपमा गरिने पर्यटन महोत्सवका लागि पर्यटन बोर्डबाट पाँच लाख रुपैयाँ सहयोग आएको र आवश्यक सहयोग नगरपालिकाले गर्ने नगर प्रमुख थापा बताउनुहुन्छ ।

स्याङ्जा र पाल्पाको सिमानामा रहेको मालुङ्गाधामबाट कालीगण्डकीमा जलयात्रा सुरु गरी रामपुर नगरपालिका ८ को पर्यटकीय स्थल सिद्धबाबा धाम भुजातमा साँस्कृतिक कार्यक्रम गरिने भएको छ । उक्त अवसरमा रामपुर क्षेत्रमा रहेका विभिन्न जातजाती, समुदायको संस्कृतिको पर्यटकले अवलोकन गर्न पाउने छन् ।

रामपुरमा रहेका विभिन्न पर्यटकिय तथा धार्मिक एवम् ऐतिहासिक तीर्थस्थलहरुको अवलोकन गर्न सकिने छ । रामपुर नगरपालिकाको बेझाड बजार स्थित राममन्दिर रामचुलो तथा निर्माणाधीन रामजानकी मन्दिर, राम्चे भ्युटावर, रामघाट, लक्ष्मीनारायण धर्मशालालाई अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै केलादी, टापुधाम, सीताकुण्ड, तातोपानी गौशाला, बाहुनडाँडा, तालपोखरा, रामकुवा, खैरेनी सामुदायिक वन, भुजात सिद्धबाबा, च्याङ्लिङ्ग सिद्धबाबा मन्दिर, हेक्लाङ्ग जल्पा मन्दिर लगायतका विभिन्न धार्मिक तथा पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रको अवलोकन गराउने तयारी गरिएको प्रचार प्रसार उपसमितिका संयोजक बुद्धिप्रकाश रेग्मीले जानकारी दिनुभयो ।

“नेपाल भ्रमण वर्षको अवसरमा रामपुर भ्रमण घुम्नका लागी बाह्य पर्यटकलाई निम्तो दिन विभिन्न ठाउँ ठाउँमा पुग्ने कार्यक्रमको तयारी भइरहेको छ ।

प्रचारकै क्रममा पर्यटकीय नगरी पोखरा लगायतका विभिन्न ठाउँ ठाउँमा पुग्ने, पाल्पाली समाज सँग समन्वय गरी रामपुरमा बाह्य पर्यटक भित्र्याउने कसरतमा रहेको जनाइएको छ ।

जलयात्रा, प्याराग्लाईडिङ्ग, पर्यटकिय तथा धार्मिक एवम् ऐतिहासिक तीर्थस्थलको अवलोकन प्याकेजमा गराइनेछ ।

यसका लागि समितिले तोकेको समय भित्र नै टिकट बुकिङ्ग गर्नुपर्नेछ । पर्यटन महोत्सवमा जलयात्रामा आएका पर्यटकलाई भुजात सिद्धबाबा धाममा टेण्टमा आवासको व्यवस्था गरिने र यस क्षेत्रको पर्यटकीय वातावरण सँग रमाउने वातावरण मिलाइने छ ।

कालीगण्डकीलाई पारिवारिक जलयात्राका लागि अति उत्तम मानिन्छ । विज्ञ सहितको टोलीले यसभन्दा अगाडी जलयात्रको सफल परिक्षण सकेको छ । गत वैशाखको ६ र ७ गते रामपुर नगरपालिकाले मालुङ्गा धामदेखि भुजात सिद्धबाबा धाम र सिद्धबाबा धामदेखि पुट्टारघाट सम्म बृहत् कालीगण्डकी जलयात्रा महोत्सव पनि गरेको थियो ।

गतवर्षको पुसमा गिनिज बुकमा नाम रेकर्ड गर्न सफल अन्र्तराष्ट्रिय साहसिक व्यक्तित्व सानुबाबु सुनुवारको नेतृत्वमा रामपुर ७ को बाहुनडाँडाबाट प्याराग्लाईडिङ्ग उडानको सफल परिक्षण गरिएको छ ।

बाहुनडाँडाबाट छ वटा प्याराग्लाईडिङ उडान गरी किसानबारी खेलमैदानमा सफल अवतरण गरिएपछि व्यवसायिक रुपमा प्याराग्लाईडिङ सञ्चालन गर्ने कार्यमा नगरपालिकाले तयारी गरेको हो ।

बाहुनडाँडाबाट छ वटा र लोस्दीबाट परिक्षणका रुपमा १६ वटा प्याराग्लाईडिङ उडान सफल भएपछि यसको व्यवसायिकतामा नगरपालिकाले जोड दिन थालेको हो ।

SHARE