सुशीला रेग्मी(पाल्पा), १४ माघ : पाल्पाको बगनासकाली गाउँपालिकाका कृषकहरु व्यवसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि यहाँका कृषकले व्यवसायिक तवरबाट कुरिलो खेती गर्न थालेका छन् ।
बगनासकाली गाउँपालिका वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । बजारमा कुरिलोको माग बढ्दो र बजार मुल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् ।
जीवलाल घिमिरेले तीन रोपनी क्षेत्रमा व्यवसायिक रुपमा कुरिलो खेती गर्नुभएको छ । कुरिलो बिक्रिबाट गतवर्ष रु पाँच लाखको आम्दानी गर्न सफल भएको उनी बताउछन्।
“यसवर्ष गतवर्षको तुलनामा आम्दानी बृद्धि हुनेछ, कुरिलो खेती लगाएपछि नसोँचेको आम्दानी हुदा म आफै दङ्ग छु” घिमिरेले भने ।
यहाँ उत्पादन भएको कुरिलो बुटवल बजार, बुटवलको भाटभटेनी, तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरे बताउनुहुन्छ । प्रतिकिलो रु चार सयमा गाउँबाटै कुरिलो बिक्रि भइरहेको छ ।
“कुरिलो उत्पादन हुनुभन्दा एक दुई महिना अघि देखि नै माग आउँछ, बजारमा पु¥याउनै सकिएको छैन । घिमिरेले जेटिएको जागिर छाडेर कुरिलो खेती गर्नुभएको हो । उनले विभिन्न ठाउँ ठाउँमा कुरिलो खेती सम्बन्धी तालिम पनि दिने गर्छन ।
सोही ठाउँकै केशवमणी बस्यालले छिमेकीले कुरिलो खेती लगाएर राम्रो कमाई गरेको देखेपछि गतवर्ष ८५ बोट कुरिलोका विरुवा लगाएका छन् । यसवर्ष करिव दुई सय बोट कुरिलो पु¥याउने लक्ष्य छ ।
“पहिलो वर्षमा नै नसोँचेको उत्पादन भयो, घरायसी प्रयोजन, आफन्त, छिमेकीलाई कोशेलीका रुपमा नयाँ उत्पादन दिएर पनि केही बजारमा बिक्रि गरियो, अब बिस्तारै वर्षेनी व्यवसायिक तवरले कुरिलो बढाउँदै जानेछु” बस्यालले भने ।
अन्नबाली लगाएर उत्पादन राम्रो लिन नसकिने जग्गामा साबित्रा बस्यालले कुरिलो लगाउन थालिन । उनले परिक्षणका रुपमा ९० बोटमा कुरिलो खेतीको व्यवसाय सुरु गरिन । राम्रो उत्पादन हुन थालेपछि यो वर्ष तीन सय विरुवा थप गर्ने गरी बेर्ना तयार पार्दै छिन् ।
अन्य तरकारी बालीको तुलनामा कुरिलो खेतीबाट दोब्बर बढी आम्दानी लिन सकिने हुदा कुरिलो खेतीलाई नै प्राथमिकता दिने उनको भनाई छ ।
थोरै समय मेहनत गरेपछि प्रतिफल राम्रो पाइने, स्वास्थ्यका लागि अति उपयोगी, बजार भाउ राम्रो रहेकाले कुरिलो लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्ने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन् ।
मानिसको स्वास्थ्यका लागि आवश्यक पर्ने दश तत्वमध्ये आठवटा तत्व कुरिलोबाट प्राप्त गर्न सकिने हुदा पनि बिक्रिका कुनै समस्या छैन । कुरिलो खेतीबाट कम लगानी र मेहनतमा कृषकले धेरै आम्दानी लिन सक्छन् ।
एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राबिधिकहरु बताउँछन् । भिरालो पानी नजम्ने जमिनमा यसको उत्पादन राम्रो हुन्छ ।
स्वास्थ्यका लागि अत्यन्तै राम्रो, कम लगानी र मेहनतमा एक पटक लगाएपछि वर्षौसम्म उत्पादन लिन पाइने हुदा कुरिलो खेतीलाई व्यवसायिक तवरले गरियो भने कृषकले राम्रो आर्थिक लाभ लिन सक्छन् ।
रामपुर नगरपालिका क्षेत्रमा पनि थोरै भएपनि परिक्षणका रुपमा कृषकले घर घरमा कुरिलो लगाउन थालेका छन् ।
स्वास्थ्यका लागि फाइदाजनक भएकाले कृषकले विरुवा खोजी खोजी घरायसी प्रयोजनका लागि कुरिलो खेती सुरु गर्दैछन् । व्यवसायिक तवरले भने रामपुरमा खेती हुन सकेको छैन ।