डढेलोका घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

0
91
फाइल तस्विर

वैशाख २७,२०८०दैलेख : आठविस नगरपालिका(६ को माल्या जङ्गलमा बुधबार भएको डढेलोमा जलेर घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

डढेलोमा घाइते भएकामध्ये ४ जनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर पठाइएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। घाइते भएका अर्का एक जनाको उद्धार गरी कोहलपुर पठाउने तयारी गरिएको लम्सालले बताए।

डढेलोमा सिकिस्त हुनेहरूमा आठविस नगरपालिका(६ का भैरे विक, प्रज विक, नवीन विक र नैना विकलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि कोहलपुर पठाइएको र अन्य एक जना वसुन्धरा विकलाईसमेत हेलिकप्टरबाट उद्धारको तयारी गरिएको प्रहरी प्रमुख लम्सालले बताए।

अन्य घाइतेमध्ये छत्रा बिक, जौकला बिक, मौती र मीन विकको स्थानीय राकम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माण गर्न गएका स्थानीय वनको डढेलोमा घाइते भएका प्रारम्भिक अध्ययनबाट देखिएको र घटनाको थप विवरण सङ्कलन भइरहेको दैलेख प्रहरीले जनाएको छ।

SHARE