गौशालाको आम्दानी खर्च सार्वजनिक

0
173

सुशीला रेग्मी
चैत ६,२०७९ पाल्पा : रामपुर नगर गौशालामा भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचनको आम्दानी खर्च सार्वजनिक गरिएको छ ।

 

गत फागुन ९ गते देखि १५ गतेसम्म चलेको महायज्ञको पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गरिएको हो । महायज्ञमा नगद २० लाख ७३ हजार ७३४ रुपैयाँ र ७३ हजार तीन सय बराबरको जिन्सी गरी कुल २१ लाख ४७ हजार ३४ रुपैयाँ आम्दानी भएको नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । कुल खर्च १३ लाख ५५ हजार ८३९ रुपैयाँसहितको आम्दानी खर्च न्यौपानेले सार्वजनिक गर्नुभयो ।

 

सप्ताहमा भक्तजनबाट दान गरिएको नगद खुद वचत रकम सात लाख १७ हजार ८९५ रुपैयाँ र जिन्सी ७३ हजार तीनसय रुपैयाँ बराबरको धान, चामल, आलु, नुन संकलन सहित सात लाख ९१ हजार १९५ वचत रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

 

श्रीमद्भागवत कथा सप्ताह प्रवचन यज्ञबाट संकलन भएको रकम अक्षयकोषमा राख्ने, गाई र व्यबस्थापनको दिगो व्यबस्थापनमा लगाइने जानकारी गराइएको छ । नगर गौशालाको तेस्रो वार्षिक उत्सवको अवसर पारेर गौशालामा रहेका गाईको दिगो व्यवस्थापनका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा पुज्य भागवत मन्जरी राधिका दासीले संगीतमय शैलीमा कथा बाचन गर्नुभएको थियो ।

 

महायज्ञमा दानदाताले आफ्नो स्वेच्छाले नगद तथा जिन्सी दान गरेको समितिका सचिव बासुदेव ढकालले बताउनुभएको छ ।

 

SHARE