रामपुरमा माटो परीक्षण शिविर

0
168

सुशीला रेग्मी
रामपुर (पाल्पा), २७ पुस : पाल्पाको रामपुरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाको आयोजना एवम् माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेको प्राबिधिक सहयोगमा किसानले खेतीयोग्य जग्गाबाट ल्याएका माटोको नमुना परिक्षण गरिएको छ ।

ज्ञान केन्द्रको आयोजनामा रामपुर नगरपालिका वडा नं ३ देखि ८ सम्मका क्षेत्रको कलष्टर छनौट गरी माटो सुधार अभियान अन्तर्गत माटो परिक्षण शिविर गरिएको हो भने परियोजना कार्यान्वयन एकाईको आयोजनामा अदुवा तथा बेसार जोन अन्तर्गत रामपुर नगरपालिका वडा नं १ र ७ तथा निस्दी गाउँपालिका वडा नं २, ४ र ५ क्षेत्रको माटो परिक्षण गरिएको छ ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । ज्ञान केन्द्रका प्रमुख अधिकारीले माटो परिक्षण शिविर पाल्पाका दशवटै पालिकामा गर्ने कार्यक्रम रहेको बताउनुहुदै किसानलाई माटोको अवस्था बुझेर मात्र बाली लगाउन सिफारिस गर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका निमिक्त नगर प्रमुख कपिलबहादुर खाँणले यो कार्यक्रमले किसानलाई धेरै फाईदा पुग्ने हुदा बेला बेलामा यस्ता कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको छ । शिविरमा २१४ वटा माटोको नमुना सङ्कलन गरिएको छ । परिक्षण गरिएका माटोमा मध्यम देखि अम्लियपन देखिएको र फस्फोरसको मात्रा कम रहेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभएको छ ।

 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाका निमिक्त कार्यालय प्रमुख छकलाल आलेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन गैरेले गर्नुभएको हो ।

SHARE