
सुशीला रेग्मी
रामपुर (पाल्पा), ३ पुस : पाल्पाको रामपुर नगरपालिकामा ‘मिस्टर एण्ड मिस पाल्पा’ हुने भएको छ । बालबालिका तथा युवा उमेर समुहका व्यक्तिलाई लक्षित गरी ‘मिस्टर एण्ड मिस पाल्पा’ आयोजना गरिएको छ ।
यसअघि दुईवटा सिजन सन्चालन गरिसकेको पि प्रोडक्सनको आयोजनामा पाल्पा जिल्लालाई लक्षित गर्दै रामपुरमा कार्यक्रम हुने भएको छ । प्रतियोगितामा लिटिल, टिन र एडल्ट गरी तीन समुहमा छुट्टाछुट्टै मिस्टर र मिस पाल्पा छनौट गरिने पि प्रोडक्सनका संचालक प्रशान्त शाहले जानकारी दिनुभयो ।

मिस्टर एण्ड मिस पाल्पा अडिसन अन्तर्गत आउँदो पौष ९ गते शनिवार पहिलो अडिसन हुनेछ । त्यसपछि प्रत्येक शनिवार छनौट गरिनेछ । विद्यार्थीलाई मध्यनजर गर्दै शुरुका दिनमा बिहान र साँझ गरी दैनिक २ घण्टा कक्षा संचालन गर्ने र समय मिल्नेलाई दिउँसो पनि कक्षा दिन सकिने शाहले बताउनुभयो । पुस २५ गतेबाट शुरु हुने तालिम सहितको कार्यक्रममा १५ दिन पोखरा, काठमाडौका प्रशिक्षकबाट सिकाइसकेपछि प्रत्यक्ष प्रस्तुति र अनलाइनको शेयर भ्यु, लाइक माध्यमबाट मिस्टर र मिस ट्यालेण्ट पाल्पा छनौट गरिनेछ । तालिम सहितको कक्षामा सहभागी हुनका लागी रजिष्ट्रेशन फाराम भर्नुपर्नेछ ।
प्रतियोगितामा अडिसन राउण्डमा सहभागी हुन प्रवेश शुल्क रु एक हजार कायम गरिएको छ । यदी छनौट नभएमा प्रवेश शुल्क रकम सहभागीलाई फिर्ता हुनेछ । कक्षा समयावधिभर सिकाई र सहभागी हुदा फेसन डिजाइनका सामाग्री तथा कपडा सशुल्क मुल्यमा प्याकेजको व्यवस्था संस्थाले गर्नेछ ।
पाल्पामा पहिलोपटक आयोजना गरिन लागेको मिस्टर एण्ड मिस पाल्पा छनौटमा सहभागीलाई नेपाली सँस्कृतिको व्यवहारिक विकास देखि जुन क्षेत्रमा दख्खल राख्छन् त्यही क्षेत्रमा पोख्त गराउन नाच्न, गाउन, बोल्न, अभियन गर्न, फेसन डिजाइन, मेकअप, फोटोसुट तथा छोटा भिडियो क्लिप लगायतका दर्जनौ क्षेत्रका लागि तालिम समेत दिएर उनीहरुलाई जान्ने र केही नयाँ परिवर्तन ल्याउने गरी तालिम सहितको प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक शितल श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठ मिस वल्ड हेरिटेज नेपाल २०२२ चुनिन सफल भएपछि व्यवसायिक रुपमा अब्बल बन्न पनि सानैदेखि घर र बाहिरको व्यवहारिक जान्नुपर्ने भएकाले अहिलेका बालबालिकालाई नेतृत्व विकास गर्दै ढुक्क गरी बोल्न सक्ने बनाउन उनीहरुको चौतर्फी विकासको लागि आफ्नै गाउँठाउँमा मिस्टर एण्ड मिस पाल्पा कार्यक्रम ल्याएको बताउनुभयो ।
रामपुरको होटल संगम (बेझाड पेट्रोलपम्प अगाडी) मा पत्रकार सम्मेलन गरी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै भारतमा गएर मिस वल्र्ड हेरिटेज नेपाल २०२२ हुन सफल भएकाले यस्ता सम्मान र अवसरले आफ्नो सहित परिवार, ठाउँको ईतिहास रच्न सकिने भएकाले यस्तै प्रतियोगिता गर्न आफू हौसिएको बताउनुभयो ।
हिजोआजका बालबालिकामा धेरै प्रतिभा हुने भएकाले प्रतिभा पहिचान गरी आफ्ना सन्ततिका लागि राम्रो हुने यस्ता प्रतिष्पर्धामा सहभागी गराई मिस र मिस्टर पाल्पा बनाउन मिस वल्र्ड हेरिटेज नेपाल हुन सफल श्रेष्ठले आग्रह गर्नुभयो । आफुसंग लुकेर रहेका प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने प्रतियोगितामा सहभागी गराउन सकिने अवसर रहेको आयोजकले जनाएको छ । अन्य स्थानमा गरिएको सिजनका आधारमा यस कार्यक्रम सम्पन्न १० लाख ११ हजार ३५० रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।








