डोजर दुर्घटनामा दुईको मृत्यु, तीन बेपत्ता

0
106

मंसिर २४,२०७९ : कालिकोटको फुकोट अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आयोजनाको डोजर भीरबाट खसेर नदीमा पुग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना बेपत्ता र तीन जना घाइते भएका कालिकोटका प्रहरी निरीक्षक शुबराज बमले जानकारी दिए।

उनका अनुसार कालिकोट सान्नी त्रिवेणी गाउँपालिका १ का ३० वर्षीय चरित्र सार्की र सोही गाउँपालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, कालिकोटकै अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र १४ वर्षका रक्तिम कार्की बेपत्ता भएका छन्। बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक बमले बताए।

उनका अनुसार बेपत्ता भएका डोजर चालक कमल सोडारीसँग आयोजना घुम्नका लागि पुगेका स्थानीयहरु दुर्घटनामा परेका हुन्।

घाइतेहरु रास्कोट नगरपालिका ७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका ११ का १४ वर्षीय विकास भारती र १४ वर्षकै आशिष भारतीको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ।

आज दिउँसो सान्नी त्रिवेणी १ अधेरीखोला स्थित ४८० मेगावाटको फुकोट कर्णाली हाइड्रो पावर निर्माणाधीन सुरुङभित्र पानीको अवस्था चेकजाँच गरी फर्कने क्रममा वाइवा इन्ट्राठेड कम्पनीको जेसीबी कर्णाली करिडोरबाट ८० मिटर तल नदीमा खसेको थियो।

SHARE