मुसिकोटका किसानले गोरु पाल्न छाडे

0
226

कात्तिक १५,२०७९ : रुकुम पश्चिमको मुसीकोट–७ का भीमबहादुर पाण्डेको गोठमा केही वर्षअघिसम्म एक हल गोरु बाँधिएको हुन्थ्यो। तर उनको गोठमा अहिले गोरु देखिँदैन।

आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि पाण्डेले गोरु पाल्न छाडेका हुन्। खेतबारी जोत्न अहिले उनलेसँग मिनीटिलर ९हाते ट्र्याक्टर० छ। उनी मात्र होइन, रुकुम पश्चिमका किसान आधुनिक औजारको प्रयोगमा लागेका छन्।

गोरुले एक दिनमा हुने काम आधुनिक कृषि औजारले दुई घण्टामै हुने भएपछि जिल्लाका किसानको आकर्षण ती औजारमा देखिएको हो।

जिल्लामा परम्परागत कृषिबाट कृषक आधुनिक कृषि प्रणालीमा लागेसँगै आधुनिक कृषियन्त्रको प्रयोग बढेको हो। जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ। कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन् । मिनीटिलर, थ्रेसर, च्यापकटर, सोलार ड्रायरजस्ता औजार प्रयोग हुने गरेको छ ।

कार्यालय प्रमुख मीनबहादुर केसीले जिल्लाको सबै क्षेत्रमा आधुनिक कृषि औजारको प्रयोग हुने गरेको जानकारी दिए। संघ, प्रदेश, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक पालिका एक उत्पादनलगायत कार्यक्रमले कृषकलाई ती सामग्री वितरण गर्ने गरेको उनले बताए।

कृषकलाई ५० प्रतिशत अनुदानमा औजार वितरण भइरहेको  छ। कृषकले आफैँले पनि ती औजार खरिद गरी प्रयोग गरिरहेका छन्।

SHARE