चर्चरे सराई आर्यभन्ज्याङ्ग जोड्ने तिनाउ खोलामा पक्की पुल निर्माण सुरु

0
435

सुशीला रेग्मी(पाल्पा), २२ पुस  :जिल्लाको चर्चरे सराई आर्यभन्ज्याङ्ग जोड्ने तिनाउ खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ प्रदेश नम्बर पाँच सरकारको भ्याटसहित रु सात करोड ९९ लाख ९३ हजारको लागत सहयोगमा पुल निर्माण सुरु गरिएको छ । सो पुलको लम्बाई ६२.९५ मीटर र चौडाई ११ मीटर रहनेछ ।

२०७८ मङ्सीर भित्र निर्माण कार्य सक्ने गरी ईलाइट निर्माण कम्पनीले ठेक्का लिएर काम अगाडी बढाएको छ । तिनाउ गाउँपालिका वडा नं ५ को चर्चरेमा निर्माण कार्य सुरु गरिएको यस पुलले सिद्धार्थ राजमार्गको करिव एक घण्टाको दुरी छोट्याउने वडा अध्यक्ष दलबहादुर जर्घाले बताए ।

“यहाँ पुल बनेपछि बुटवल आउन जान पूर्वी भेगका नागरिकलाई धेर सहज हुनेछ, गाडीमा करिव एक घण्टाको बाटो छोटिनेछ” अध्यक्ष जर्घाले भने । पुलले तिनाउको चर्चरे, कोलडाँडा, मराङ्गकोट, बिस्कुनडाँडा हुदै सराई हुदै सिद्धार्थ राजमार्गमा जोडिने उनको भनाई छ ।

पाल्पाको माथागढी गाउँपालिका, तानसेन नगरपालिका, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका लगायतका स्थानीयलाई यात्रा गर्न सजिलो पर्नेछ । पुल बनेपछि सिद्धार्थ राजमार्ग संगको करिव १७ किलोमिटरको दुरीको दुरी कम पर्नेछ ।

यहाँ पुल निर्माण कार्य सुरु भएपछि पूर्वी पाल्पाका नागरिक खुशी भएका छन् । सो पुलको प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलन्यास गरेका हुन् ।

SHARE