प्रहरी सवार ट्रक नै दुर्घटना दुईको मृत्यु, ६ जना घाइते

0
229

कात्तिक ५,२०७९ कपिलबस्तु : कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शुक्रवार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडक खण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ । उहाँहरूको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

ट्रकमा सवार थप तीन जना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन्। उनीहरूको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । बस्ती नजिकै भएको दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

SHARE