रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

0
127

सुशीला रेग्मी
रामपुर (पाल्पा), २ कात्तिक :सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ । तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिदैन ।

सेवा प्रदायक निकायले आफ्नो कार्यालयबाट प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउने विवरण वा सूचना पार्टीका रुपमा लिइने नागरिक वडापत्र हरेक कार्यालयमा राख्नुपर्ने भएपनि यहाँको नगरपालिका कार्यालयमा कतै राखिएको पाइदैन ।
नागरिकले कार्यालयमा गएर के के सेवा लिने भन्ने जानकारीका लागि कार्यालय बाहिर राखिने जानकारीमुलक सूचना भएपनि रामपुर नगरपालिकाको कार्यालय परिषरमा कतैपनि नदेखिएको स्थानीयवासी भोजराज भट्टराई बताउनुहुन्छ ।

“वडापत्र नहुदा नगरपालिका कार्यालयमा सेवा लिन आउने नगारिक सूचना पाउनबाट वञ्चित हुन परेको छ” उहाँले भन्नुभयो–“जाने बुझेका नागरिकले त कर्मचारीसंग सोधपुछ गरेर सूचना लिन्छन् अर्थात् वेवसाइटमार्फत सुचना हेर्लान् तर सामान्य नागरिक अन्धोजस्तै हुनु परेको छ, वडापत्र अनिवार्य रुपमा राखिनुपर्ने भएपनि यहाँको नगरपालिकाले यसको व्यवस्था गरेको छैन” ।

नागरिक वडापत्र सम्बन्धी सुशासन (व्यवस्थापन र सञ्चालन ऐन २०६४) ऐनमा भएको व्यवस्था अनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक वडापत्र राख्नुपर्दछ । नागरिक वडापत्र जोकोहीले स्पष्ट देखिने गरी कार्यालयमा राखिनुपर्ने भएपनि रामपुर नगरपालिकाले सो व्यवस्थाको पालना नगरेको सीताराम माविका शिक्षक मनिराज अधिकारीले बताउनुभयो ।

सूचना पाउने नागरिकको नैसर्गीक अधिकार हो । नागरिकले सुचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रष्टसंग देखिने गरी राख्नुपर्छ । नगरपालिकाले सबै नागरिकले देखिने गरी राखेको खण्डमा नागरिक सूचना पाउनबाट वञ्चित हुनु नपर्ने बताउनुहुन्छ, कालिका माविका शिक्षक ज्ञानबहादुर दर्जी ।

कार्यालयले सेवा दिने विषयलाई स्पष्टसंग सेवाग्राहीलाई अग्रिम जानकारी गराउने सूचना पार्टीलाई पार्टी नागरिक वडापत्र भनिन्छ । यो सेवाग्राहीको प्रतिबद्धता पत्र पनि हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले डिजिटल बनाउने प्रक्रियामा रहेको र अब छिट्टै नै डिस्प्ले सहितको नागरिक वडापत्र बन्ने बताउनुभयो ।
“म पनि यस कार्यालयमा हालसालै मात्रै सरुवा भएर आएको हो, पूरानो भवनमा (हाल रामपुर ५ को वडा कार्यालय रहेको) नागरिक वडापत्र थियो भन्ने जानकारी पाएको छु, प्रक्रियामा रहेकाले हामी जतिसक्दो चाडोँ राख्ने तयारीमा छौँ” उहाँले भन्नुभयो ।
नयाँ प्रशासकिय भवन सञ्चालन भएको सात महिना भइसक्दा पनि नागरिक वडापत्र नराखिनु नगरपालिकाको ढिलासुस्ती भएको नागरिकले बताएका छन् । नागरिक वडापत्र भनेको सेवा प्रदायक सार्वजनिक निकायहरुले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिबद्धता हो ।

सम्वन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम समेत लाग्ने भए सोको विवरण, सेवा प्राप्त गर्न सेवाग्राहीले पेस गर्नुपर्ने कागजात, सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम, सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन नं., सेवा प्रवाहको प्राथमिकता, क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरु जस्ता जानकारीमुलक सूचना नागरिक वडापत्रमा पाइन्छ ।

प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानूनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायहरुमा पारदर्शिताको प्रवद्र्धन गर्ने, सरकारी काम कारवाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने, सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठपोषण प्राप्त गर्ने, दण्ड पुरस्कार प्रणालीको विकास गर्ने तथा समग्रमा भन्दा मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले नागरिक वडापत्र राख्ने परम्पराको विकास भएको पाइन्छ ।

 

SHARE