द्वन्द्वका बेला रजिष्ट्रेसन पास भएका घरजग्गाको समस्या हट्दै

0
570

पुस २०, २०७६ रुकुम  :रुकुम पश्चिम सानिभेरी गाउँपालिकाभित्र सशस्त्र द्वन्द्वको समयमा जनसत्तामा रजिष्ट्रेशन पास गरिएका घरजग्गाको समस्या लामो समयपछि हल भएको छ। सबै तहका सरकारको चुनौतीको रुपमा रहेको जनसत्ताका लिखतले कानुनी मान्यता पाएको हो। यसअघि रुकुम पश्चिमको बाँफिकोटमा पनि शिविरमार्फत ठूलो संख्या जनसत्ताका लिखित मालपोतमा दर्ता भएका थिए।

सानीभेरी गाउँपालिकाको सहजीकरणमा जग्गा बेच्ने र किन्नेबीच सहमति गरेर नामसारी गरिएको छ। गाउँपालिकाले साताअघि सानीभेरी गाउँपालिका कार्यालयमा र वडा नं ५ को दुली मेलचौरमा गरी तीनदिने शिविर राखेर गाउँमै जनसत्ताका लिखतलाई मालपोतमा दर्ता गराएको सानीभेरी गाउँपालिका सामाजिक विकास समिति तथा वडा नं ३ का वडा अध्यक्ष बिर्खबहादुर विष्टले बताए। सशस्त्र द्वन्द्व चल्दै गर्दा सदरमुकाम जान अप्ठ्यारो थियो। त्यस्तो अवस्थामा माओवादीले जनसत्तामार्फत सर्वसाधारणको घरजग्गा किनबेचको रजिष्‍ट्रेसन पास गरिदिएका थिए। तर, शान्ति स्थापना भएपछि जनसत्ताका लिखतले मान्यता पाएनन्। माओवादीकै नेतृत्वमा सरकार हुँदा पनि जनसत्ताका लिखतले मान्यता नपाएपछि स्थानीय बासिन्दा समस्यामा परेका थिए।

जनसत्ताका लिखतले मान्यता नपाएपछि कतिले थप मूल्य तिरेर मालपोत कार्यालयमार्फत फेरि जग्गा पास गराएका थिए। घरजग्गा बिक्री गरेका कतिपयले अर्कैलाई पाससमेत दिएपछि समस्या भएको थियो। सानीभेरी गाउँपालिकामा स्थानीय सरकार गठन भए लगत्तै २०७४ मा सानीभेरी गाउँकार्यपालिकाको पहिलो बैठकमा १० वटा निर्णयमध्य १ नम्बर निर्णय जनसत्ताको लिखत समाधान गर्ने निर्णय गरे पनि लामो समयसम्म अन्यौलको रुपमा रहेको समस्या समाधान भएपछी सर्वसाधारण निकै खुसीभएका छन्। सानीभेरी गाउँपालिकामा झन्डै ३०० वटा लिखत भए तापनि केही किन्ने र बेच्ने दुवैको सहमतिमा यसअघि नै समाधान गरिएका थिए भने यसपटक २१५ कित्ता अर्थात् १८४ जनाले मालपोतमा रजिष्ट्रेसन पास गराएका छन्। जिल्ला छाडेर अर्को जिल्ला बसाइँ सरेका, बसाइँ सरेर पनि विदेश गएका, मान्छे घर नभएका, सूचना नपाएकाहरूको मात्रै जग्गा बाँकी रहेको रहेको र बाँकी सबैको समस्या समाधान गर्न अब सजिलो भएको बताइएको छ।
थाहाबाट

SHARE