पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

0
364
फाइल तस्विर

भदौ ३१ गते ।
पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका अन्र्तगत अर्बेनी देखि पुर्तिघाट सडक खण्डको राक्सेमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
केही दिनदेखी परेको अविरल बर्षाका कारण शुक्रबार बिहान सडक माथिबाट साना ठुला गरी दर्जन जति पहिरो खसेका कारण सडक अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् ।

निरन्तर रुपमा पानी परिरहेकाले सडक खुलाउनका लागि समस्या भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । 
पानी रोकिए पछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाको अधिकांश बजेट करिडोरमा गएको पहिरो पन्छाउन मै खर्च हुने भएकाले विगतका बर्षहरु देखि नै आफूहरु हैरान भएको थापाले बताउनुभयो ।
पहिरो खस्ने बित्तिकै स्थानीयहरुले खै स्थानीय सरकार भन्न थाल्ने भएकाले करिडोरको डोजर कुर्दा समय लाग्ने भएकाले आफूहरुले नै पहिरो पन्छाउने कार्य गर्नुपरेको उहाँको भनाई छ ।

सामान्य पानी परेपछि र अलि ठूलो हावाहुरी चलेपछि सडक माथिबाट ढुंगा खसेर सडक अवरुद्ध हुने रोग जस्तै भएको कालीगण्डकी गाउँपालिकाका प्राविधिक सत्यनारायण रायको भनाई छ । सडक माथिबाट लेदो सहितको पहिरो खस्ने गरेको र निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउँदा माथिबाटै अझै धेरै खस्न सक्ने संभावना हुने भएकाले सडक खुलाउन पनि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

पहिरोका कारण गाउँपालिकाको केन्द्र पुर्तिघाटमा सेवा लिन जाने सेवाग्राहीहरु वञ्चित भएका छन् । सडक अवरुद्ध हुँदा हर्मिचौर , अर्वेनी , जयखानीका सेवाग्राहीहरु गाउँपालिकाबाट सेवा लिन वञ्चित भएका छन् भने सवारी साधनहरु पनि चल्न सकेका छैनन् ।
नेपाली सेनाले बम ब्लाष्ट गरेर खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डमा सामान्य पानी परेपनि पहिरो खस्ने समस्या विगत देखिकै रोग भएको स्थानीयहरुले बताएका छन् ।

यता कालीगण्डकी करिडोर गैडाकोट,राम्दी,मालढुंगा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले पहिरो पन्छाउनका लागि आफूहरुको डोजर पनि फिल्डमै हुने र नभएको खण्डमा गाउँपालिकासंग समन्वय गरेर अगाडि बढीरहेको बताउनुभयो ।

उहाँले करिडोरलाई निरन्तर रुपमा सुचारु गराउनका लागि कार्यालय र गाउँपालिका दुबैको सहकार्य जारी रहने गरेको समेत उल्लेख गर्नुभयो ।

SHARE