एमालेबाट निर्वाचित प्रतिनिधिद्धारा कार्यपालिका बैठक बहिष्कार

0
264

हुमाकान्त पोखरेल
गुल्मी, ०८ साउन । रुरुक्षेत्र गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । मंगलबार तोकिएको कार्यपालिका बैठकमा छलफलमा नराखिएको बिषयलाई लिएर एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले शिक्षा समतिलाई टुंगोमा पु¥याउनुपर्ने माग गरेका थिए । तर मंगलबारको बैठकमा उक्त बिषय समावेश थिएन । सोही बिषयलाई लिएर कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । एमालेबाट निर्वाचित वडा नम्बर ४ का वडाध्यक्ष मोति प्रसाद श्रेष्ठले शिक्षा जस्तो महत्वपूर्ण बिषय पनि पालिका अध्यक्षले छलफलको बिषय नबनाएको भन्दै बैठक बहिष्कार गरेको प्रतिक्रिया दिए । उनले शिक्षाको बिषय टुंगाएपछि मात्र अरु एजेण्डामाथि छलफल गर्ने आफुहरुको योजना रहेको बताए । माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर ५ का अध्यक्ष समेत रहेका प्रवक्ता हरी प्रसाद ज्ञवालीले अर्को बैठकमा शिक्षा समितिको बिषय छलफल गर्ने कार्यतालिका रहेपनि एमालेले बहुमतको दम्भ देखाएर कार्यपालिका बैठक बहिष्कार गरेको आरोप लगाए । ‘साथिहरुले पार्टीको बहुमतको दम्भ देखाउनुभएको छ ।’ उनले भने, ‘यसले कसैलाई राम्रो गर्दैन ।’ रुरुक्षेत्र गाउँकार्यपालिकामा पालिका अध्यक्ष र ५ नम्बर वडाध्यक्ष गरी माओवादीबाट दुईजना एवम् उपाध्यक्षसहित अन्य सबै प्रतिनिधि एमालेबाट निर्वाचित छन् ।
म्ांगलबारको बैठकमा विद्युत महशुल छुट दिने, टोल विकास संस्था गठन तथा संचालन, मृगौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघातका बिरामीहरुको लागि उपचार खर्च बिनियोजन गर्ने लगायतका २१ बिषय छलफलको लागि राखिएको थियो । तर एजेण्डा पढिसकेपछि एमाले प्रतिनिधिहरुले शिक्षा समितिको बिषय उठाउदैँ बैठक नै बहिष्कार गरेको प्रवक्ता ज्ञवालीले बताए । गाउँपालिका उपाध्यक्ष मीनादेवी गौतमले अध्यक्षले बैठक स्थगित भएको जानकारी नदिदैँ वडाध्यक्ष र कार्यपालिका सदस्य उठेर हिडेको बताईन् । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आगामी बैठकमा शिक्षाको बिषय समेट्ने बताएपनि कार्यपालिका सदस्यहरुले नमानेको प्रतिक्रिया दिए । ‘अब अर्को बैठकमा सबै बिषयहरुको बारेमा छलफल हुन्छ ।’ ज्ञवालीले भने, ‘म आफै पनि पहिले विद्यार्थी संगठनमा काम गरेकोले शिक्षासँग सम्बन्धित बिषयमा पूर्ण जानकार छु ।’

SHARE