नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

0
252
फाइल फोटो

साउन ६,२०७९काठमाडौँ : प्रतिनिधिसभाले लगातार ७ घण्टा छलफल गरेर नागरिकता विधेयक पारित गरेको छ। शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठक निरन्तर ८ बजेसम्म छलफल गरी विधेयक पारित गरिएको हो।

छलफलमाथि उठेका प्रश्नको गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले स्वीकृत भएको घोषणा गरे।

विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी थिए ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले आमाबुबा दुवै नेपाली भए पनि सन्तानले नागरिकता पाउन नसक्दा लाखौँ युवाले राज्यको सेवा सुविधाबाट वञ्चित हुन पुगेको भन्दै यो विधेयक ल्याइएको दाबी गरे।

सभामुख सापकोटाले अरू कार्यसूची हटाएर गृहमन्त्री बालकृष्ण खाँणलाई ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न रुलिङ गरेका थिए।

सो प्रस्ताव स्वीकृत भएपछि लगातार तीन घण्टामा २७ संशोधनकर्ता सांसदले आफ्नो धारणा राखेका थिए। त्यसपछि अन्य सांसदले छलफलमा भाग लिएका थिए। नागरिकता विधेयकमा ४५ सांसदले एकल र समूहगत गरी ९४ बुँदामा संशोधन दर्ता गराएका थिए। ती सबै बहुमतले अस्वीकृत भए।

प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रियसभामा छलफल गरिनेछ। त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ।

SHARE